
कैलालीमा ३ लाख बढी नागरिकले पाए कोरोना खोप

अत्तरिया, ९ माघ : कैलालीमा १८ वर्ष भन्दा माथिका ३ लाख बढी नागरिकले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला भरिका ९ लाख ६७ हजार ७ सय २८ जनसंख्या रहेको मा १८ वर्ष माथिका ६ लाख ३४ हजार ६ सय ४४ लक्षित नागरिकहरू मध्ये ३ लाख ८५ हजार १६ जनाले कोरोना भाइरस कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका हुन् । जसमध्ये पहिलो डोज मात्र प्राप्त गर्ने ४ लाख २३ हजार ५ सय ८ जना रहेका छन् ।
नेपालमा कोरोना भाइरसबाट पहिलो र दोस्रो लहरभन्दा हाल संक्रमित हुने दर वृद्धि भएको छ । ओमिक्रोन भेरिएन्टका कारण कोरोना महामारीको तेस्रो लहर सुरु भइसकेको चिकित्सक हर्को भनाई छ । पहिलो लहरको कारक चीनको वुहानमा भेटिएकै कोरोना भाइरस थियो भने दोस्रो लहरको कारक डेल्टा भेरिएन्ट थियो । हाल दक्षिण अफ्रिकाले पत्ता लगाएको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण विश्व नै फेरि एक पटक महामारीको चपेटामा परेको छ । नेपालमा पनि ओमिक्रोन भेरिएन्ट निकै तीव्र गतिमा फैलिरहेको बेला कैलालीमा पनि कोरोना परीक्षण र खोप अभियान तीव्र पारिएको छ ।
जस अन्तरगत कैलालीमा हालसम्म ६०.७ प्रतिशत १८ वर्ष माथिको जनसङ्ख्याले कोरोनाको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कमा उल्लेख गरिएको छ । कैलाली जिल्लामा पूर्ण मात्रामा कोरोना खोप लगाउने नागरिकको सङ्ख्या बढ्दो रहेको स्वास्थ्य कार्यालय कैलालीका खोप सुपरभाइजर प्रदीप जोशीले जानकारी दिए । कोरोना विरुद्धमा अहिले जिल्लामा कोभिड सिल्ड, भ्यारोसेल, जोनसन, एष्ट्राजेनिक र फाईजर लगाइँदै गरेको र वैशाख महिना भित्र ६ लाख ३४ हजार ६४४ जनालाई खोप दिने तयारी रहेको जोशीले बताए ।
यस्तै, धनगढी उप–महानगरपालिकामा १ लाख ३ हजार ८ सय ४ जनालाई कोरोना विरुद्धको पुर्ण मात्रामा खोप लगाइएको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अहेव दीपक सुनारले जानकारी दिनुभएको छ । त्यस्तै, हाल सम्म सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको १ लाख २१ हजार ७६१ कोरोना परीक्षणमा २२ हजार १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, कोरोनाको सुरुको भेरियन्ट देखी अहिले सम्म प्रयोगशाला बाट १६ सय ४५जना अस्पताल भर्ना भएकोमा २१२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ
यसै गरी, कोरोना भाइरसको नयाँ भेरीयन्ट देखा पर्दा वंशाणुगत गुणहरू केही परिवर्तन भएर आउने हुँदा सङ्क्रमण गर्ने क्षमता र जटिलताहरूमा केही फरक रहेको सेती प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन फीजिसीयन डा सेरबहादुर कमरको भनाई छ ।
कोरोना भाइरस कोभिड–१९ को नेपालमा पहिलो लहर २०७७, साउन १२ गतेदेखि, दोस्रो लहर चैत ४ गतेदेखि र तेस्रो लहर २०७८ पुस १० गतेदेखि प्रभाव देखिएको थियो । जसबाट जोगिनको निम्ति कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर खोप मात्रा लगाउन स्वास्थ्यकर्मी ले आग्रह गरेका छन् ।
