Agni Offset Press

सुदूरपश्चिम प्रदेश : पहाडी जिल्लाको जनसंख्या घट्यो, तराईको बढ्यो

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लाको जनसंख्या बृद्धिदर ऋणात्मक देखिएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ जनगणनाको प्रारम्भिक विवरणमा प्रदेशका ५ जिल्लाको तथ्यांक ऋणात्मक देखाएको हो ।
प्रदेशका सात पहाडी जिल्लामध्ये पाँच जिल्लामा वार्षिक जनसंख्या बृद्धिदर ऋणात्मक छ । तथ्यांकले बैतडीको जनसंख्या घटेको देखाएको छ । बैतडीमा वार्षिक बृद्धिदर –०.२५ प्रतिशत ऋणात्मक छ । १० वर्षअघि दुई लाख ५० हजार ८९८ जनसंख्या रहेको बैतडीमा हाल दुई लाख ४४ हजार चार सय मात्र कायम भएको छ । पहाडी जिल्लाहरूको तुलनामा विकास, व्यापार र उत्पादनका हिसाबले राम्रो मानिने डडेल्धुरा जिल्लाको जनसंख्या बृद्धिदर –०.१८ प्रतशतले ऋणात्मक देखिन्छ ।

गत जनगणनामा एक लाख ४२ हजार ९४ रहेको मा पछिल्लो जनगणनाले एक लाख ३९ हजार चार सय २० मात्र देखाएको छ । १० वर्षमा यस जिल्लाको जनसंख्या दुई हजार ६७४ ले घटेको छ ।
अछामको वार्षिक बृद्धिदर–१.०९ प्रतिशत छ । २०६८ को जनगणना अनुसार अछामको कूल जनसंख्या दुई लाख ५७ हजार ४७७ रहेकोमा यस वर्षको जनगणनाले जिल्लाको जनसंख्या दुई लाख २९ हजार एक सय १६ मात्रै देखाएको हो । यस हिसावले दश बर्षमा जिल्लाको जनसंख्या २७ हजार ६ सय ६१ ले घटेको छ ।
बझाङ्गको जनसंख्या बृद्धिदर पनि ऋणात्मक छ । यस जिल्लामा –०.३० प्रतिशत ऋणात्मक देखिन्छ । १० वर्षअघि जिल्लाको जनसंख्या एक लाख ९५ हजार १५९ रहेकोमा यस वर्ष घटेर एक लाख ८९ हजार ९७ रहेको छ । १० वर्षको यो अवधिमा डोटीको जनसंख्या पनि घटेको छ । ०६८ को जनगणनामा डोटीको जनसंख्या दुई लाख ११ हजार ७४६ रहेकामा हाल दुई लाख पाँच हजार ६८३ मात्र छ ।
अन्य दुई पहाडी जिल्लाहरू बाजुरा र दार्चुलामाभने जनसंख्या थोरै बृद्धि भएको देखिन्छ । ०६८ को जनगणना अनुसार बाजुराको जनसंख्या एक लाख ३४ हजार ९१२ रहेकोमा हाल एक लाख ३८ हजार ९९८ पुगेको छ । यस जिल्लाको वार्षिक बृद्धिदर ०.२९ प्रतिशत रहेको छ । यस्तै गत जनगणनामा दार्चुलामा एक लाख ३३ हजार २७४ जनसंख्या रहेकोमा हाल एक लाख ३५ हजार ५६ पुगेको छ । यस जिल्लाको वार्षिक बृद्धिदर ०.१३ प्रतिशत रहेको छ ।
भाद्र ३० देखि असोज १८ गतेसम्म पहिलो र कार्तिक २५ देखि मंसिर ९ सम्म दोश्रो चरणमा भएको भएको राष्ट्रिय जनगणना भएको थियो । प्रदेशभित्र पर्ने तराईका दुई जिल्लाहरू कैलाली र कञ्चनपुरको जनसंख्या बृद्धिदर भने पहाडी जिल्लाको तुलनामा उल्लेख्य बृद्धि भएको तथ्यांकले देखाउँछ । राष्ट्रियस्तरको वार्षिक जनसंख्या बृद्धिदर ०.९३ प्रतिशत रहेकोमा कैलाली जिल्लाको वार्षिक बृद्धिदर १.५४ प्रतिशत छ । यस्तै कञ्चनपुरको वार्षिक बृद्धिदर १.३२ प्रतिशत रहेको छ । ०६८ को जनगणना अनुसार कैलालीको जनसंख्या सातलाख ७५ हजार ७०९ रहेकोमा हाल नौ लाख ११ हजार १५५ पुगेको छ । यो संख्यागत जनगणनाको भन्दा एक लाख ३५ हजार ४४६ ले बढी हो ।
यस्तै गत जनगणना अनुसार कञ्चनुरको जनसंख्या चार लाख ५१ हजार २४८ रहेकोमा हाल पाँच लाख १७ हजार ६४५ पुगेको छ । १० वर्षमा यस जिल्लाको जनसंख्यामा ६६ हजार ३९७ ले बृद्धि भएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.