
सुदूरपश्चिममा कहिले सम्पन्न होलान् राष्ट्रिय गौरवको योजना ?

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा निर्माणधिन राष्ट्रिय गौरवको योजनाले गति लिन सकेको छैन् । निर्माण कम्पनीको वहानावाजीले गर्दा नै दशक भन्दा बढी समय घर्किसक्यो । विकासमा सयल खेल्ने सपना देखेका सुदूरवासीवासीका सपना कहिले साकार हुने हुन् त्यो टुङगो छैन् । प्रदेशको समृद्धिसंग जोडिएका कुनै पनि सडकको ट्रयाक समेत खोल्न सकेको छैन् ।
पहिलो संविधानसभा निर्वाचन २०६४ पछि सुदूरपश्चिममा तीनवटा महत्वका सडकका योजनाहरू सुरु भए । सेती लोकमार्ग, महाकाली करिडोर र धनगढी–दीपायल दु्रुत मार्ग योजना कार्यान्वयनमा आएका । हुन् । यी मध्ये कुनै पनि सडकको भौतिक प्रगति सन्तोषजनक देखिएको छैन् ।
२०६६ मा तत्कालीन सरकारले धनगढीको हसनपुर जिरोप्वाइन्ट भएको धनगढी–खुटिया–दीपायल द्रुतमार्गको योजना अगाडि सार्यो । त्यो सडक विकास प्रगति एकदम कम छ ।
१३ वर्ष बितिसक्दा पनि यसको निर्माणको अवस्था कछुवा गतिमा छ । धनगढीबाट छोटो दूरीमा साबिकको सुदूरपश्चिम क्षेत्रीय सदरमुकाम दीपायल जोड्न यो छोटो दूरीको राजमार्गको अवधारणा अगाडि सारेको हो । अहिले सञ्चालनमा रहेको धनगढी–डडेल्धुरा–दीपायलको दुरी २ सय किलोमिटर बढी छ । तर, धनगढी–खुटिया–दीपायल द्रुतमार्ग भने ८६ किलोमिटर मात्रै हो ।
२०७३ देखि योजना कार्यान्वयनमा आए पनि यसको निर्माण भने सन्तोषजनक छैन । अहिले, धनगढी–हाटखोलीसम्मको सडकमा ट्रयाक खुलेको छ भने त्यसैको साढे १३ किलोमिटर कालोपत्रेको पनि ठेक्का भएको छ । योजना प्रमुख खगेन्द्रबहादुर सिंहले उक्त सडकमा ९ स्थानमा ठेक्का भइसकेको बताए । तर, वन कार्यालयले रूख कटान आदेश नदिँदा निर्माणमा ढिलाइ भइरहेको दावी गरे ।
यस्तै २०६५ मा प्रदेशका पाँच जिल्ला कैलाली, डोटी, बझाङ, अछाम र बाजुरालाई सडक सञ्जालमा जोड्ने गरी सेती लोकमार्गको योजना अगाडि सार्यो । यो सडक पाँचै जिल्ला हुँदै बझाङको चैनपुर र चीनको तिब्बतको ताक्लाकोट जोड्ने गरी निर्माण गर्ने लक्ष्य छ ।
कैलालीको टीकापुरदेखि बझाङको सदरमुकाम चैनपुर हुँदै उरै भञ्ज्याङ–ताक्लाकोट जोड्ने सेती लोकमार्गको लम्बाइ ३५९ किलोमिटर छ । सुरुआतका बेला यसलाई सेती लोकमार्ग, एउटै योजनामा राखे पनि, पछिल्ला ३ वर्षयता भने सेती लोकमार्ग दक्षिणखण्ड र सेती लोकमार्ग उत्तरखण्ड गरी २ योजना बनाइएका छन् ।
टीकापुर–चैनपुरसम्मको २४२ किलोमिटरखण्ड सेती लोकमार्गको दक्षिणखण्ड हो । यसको योजना कार्यालय अछामको साँफेबगरमा छ । त्यस्तै, चैनपुर–उरै भञ्ज्याङ हुँदै ताक्लाकोटसम्मको ११७ किलोमिटर सेती लोकमार्गको उत्तरखण्ड भनेर तोकिएको छ ।
दक्षिणखण्डमा केही काम भए पनि उत्तरखण्डमा भने खासै प्रगति हुन सकेको छैन । दक्षिणखण्डमा चारवटा पुल बझाङका कालीपछाइ, एराडीगाड र ऐडीगाड तथा अछामको लुंग्रेलीगाडमा पुल निर्माण भइरहेको छ । तर, दक्षिणखण्डमै आधाभन्दा बढी ट्रयाक खोल्नै बाँकी छ ।
त्यस्तै, टीकापुर–अछामको साँफेबगरसम्मको १४४ किलोमिटर सडकमध्ये ९५ किलोमिटर ट्र्याक खुलेको छैन भने साँफेबगर बगर–बझाङ सदरमुकाम चैनपुरसम्मको ९८ किलोमिटर सडकमध्ये ४५ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको योजना कार्यालयका निमित्त प्रमुख दमन विष्टले जानकारी दिए ।
टीकापुर–बौनिया हुँदै चुरेको केही भागमा सडकको ट्र्याक खुलेको छ । तर, चुरे क्षेत्रमा वन कार्यालयले रूख कटानको अनुमति नदिएका कारण ३ वर्षदेखिको ठेक्कामा पनि काम हुन सकेको छैन । यसपालि संघीय सरकारले दक्षिणखण्डका लागि ३० करोड बजेट विनियोजन गरेको छ भने उत्तरीखण्डका लागि २६ करोड, ‘साँफेबगरदेखि लोडेगाडसम्मको सडक चौडा पार्न १५ करोडको ठेक्का भएको छ ।
सुदूरपश्चिमबाट भारतको सिमानादेखि चीन जोड्ने एउटा पनि मार्ग छैन । तराईका कैलाली र कञ्चनपुरबाट चीनको सिमाना जोड्ने सेती लोकमार्ग छोटो दूरीको मार्ग हो । भारतीय सीमा टीकापुर–ताक्लाकोट जोड्दासम्म ३५९ किलोमिटर मात्रै छ ।
यस्तै प्रदेशका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको मध्यपहाड हुँदै तिंकर भञ्ज्याङ–तिब्बतको ताक्लाकोट जोड्ने गरी महाकाली करिडोर निर्माण गर्ने योजना अगाडि सार्यो । यो सडक पनि २०६५ देखि निर्माण सुरु भएको थियो ।
कञ्चनपुरको ब्रह्मदेव जिरोप्वाइन्ट, डडेल्धुराको परशुराम क्षेत्र र बैतडीका विभिन्न स्थानीय तह छिचोल्दै दार्चुलाको सदरमुकाम लगायतका क्षेत्र सहित तिंकर भञ्ज्याङ हँुदै चीनको ताक्लाकोट जोड्ने लक्ष्यले महाकाली करिडोर सुरु भएको थियो । यसको लम्बाइ ४२५ किलोमिटर छ । योजना २०६५÷६६ देखि निर्माण सुरु भए पनि धेरैजसो स्थानमा यसको ट्रयाक खोल्ने कामसमेत नभएको सब–इन्जिनियर मुकेन्द्र मल्लले बताए । ४२५ किलोमिटर सडकमध्ये दार्चुलादेखि तिब्बततर्फको ८७ किलोमिटर सडक निर्माण नेपाली सेनालाई जिम्मा दिइएको छ । सडकका लागि चालू आर्थिक वर्षमा २२ करोड बजेट विनियोजन भएको छ ।
सेनाबाहेक महाकाली करिडोर योजना कार्यालयले विभिन्न १० स्थानमा ठेक्का दिएको छ । ब्रम्हदेवदेखि १५ किलोमिटर अथवा त्रिशूलेधारसम्म ५ करोडमा गत आवमा ठेक्का भए पनि वन कार्यालयले रूख कटानको आदेश नदिएका कारण निर्माण अलपत्र परेको छ ।
सब–इन्जिनियर मल्लले चालू आवको बजेटबाट दसैंअघि नै सूचना प्रकाशित गर्ने तयारी भइरहेको बताए । त्यस्तै, ९२–१५० किलोमिटर–५८ किलोमिटर) र २२३–२५७ किलोमिटर–३४ किलोमिटर) सम्मको ट्र्याक खोल्ने ठेक्का ‘कन्काइ कर्ण जेभी’ ले २२ करोडमा पाएको छ । तर, जिल्ला वन कार्यालय बैतडीले समयमै रूख कटानको आदेश नदिएपछि पञ्चेश्वर क्षेत्रको ट्र्याक कटिङमा समस्या भइरहेको निर्माण व्यवसायीले दावी गर्दै आएका छन् ।
यस सडकमा १५०–१५३ किलोमिटरसम्मको सडकमा कडा चट्टान छ । त्यसको ठेक्का भएको छैन । दार्चुलाको जिल्ला सदरमुकाम यस योजनाको २९१ किलोमिटरमा पर्छ । त्यसभन्दा चीनतर्फको सडकमा ३३४ किलोमिटरसम्म ट्र्याक खुले पनि पछि सेनालाई दिएको सिमानासम्मको ४ किलोमिटर ट्र्याकको ठेक्का भएको छैन ।
चालू आवमा महाकाली करिडोरका लागि ७९ करोड बजेट विनियोजन भएको योजना कार्यालयले जनाएको छ । मल्ल भन्छन्, ‘यसपालि बजेट राम्रो आएको छ । सदरमुकामदेखि ४० किलोमिटर तिंकरतर्फको ट्रयाक पहिले नै खुलिसकेको छ । यसको स्तरोन्नतिका लागि ठेक्का गर्ने प्रक्रियामा छौं ।’
सुदूरपश्चिममा हाल सम्म डबल लेनका २ वटा सडक मात्र छन् । एउटा, पूर्व–पश्चिम राजमार्ग (तत्कालीन महेन्द्र राजमार्ग) र अर्को भीमदत्त पन्त राजमार्ग । ९ वटा जिल्लाको यस प्रदेशमा मध्यपहाड र हिमाललाई पनि सडक सञ्जालमा जोड्नुपर्छ भन्ने अवधारणा २०६२÷६३ को जनआन्दोलनपछि मात्रै ल्याएको हो ।
