
डडेल्धुरा : तपाईंलाई कति स्मरण छन्, रैथाने जातका बाली ? भन्नु होला। अहिले त मकै, गहुँ, धान बढी थाहा भएकाले कोदो। तर नयाँ कृषकले यी बालीका नयाँनयाँ जात मात्र खोजेर लगाउने गर्नाले रैथाने बाली जौ, उवा, फापर त प्रायः लोप भएका छन्।
नेपालमा पनि कृषकहरुले एग्रोभेट वा बीउ उत्पादक विभिन्न कम्पनीबाट नयाँ–नयाँ जातका बीउ खरिद गर्न थालेदेखि रैथाने बीउ हराउन थालेका छन्। त्यसो त रैथाने बीउ लोप हुनुमा जनसंख्या वृद्धि, बसाइँसराइ, तीव्र शहरीकरण, जलवायु परिवर्तन तथा मानिसहरुको खाद्य संस्कृतिमा आएको परिवर्तन, आधुनिक विधिबाट खेती गर्ने तरिका र सरकारी कृषि नीति तथा कार्यक्रम पनि जिम्मेवार छन्।
यहाँको विविधतायुक्त हावापानी तथा भौगोलिक बनावट, धार्मिक, सांस्कृतिक तथा जातीय विविधता र कृषकहरुले पुस्तौंदेखि परम्परागत विधि तथा तौरतरिका अपनाएर बीउ तथा विरुवाको छनोट, संरक्षण र भण्डारण, एकआपसमा साटासाट गर्ने चलनले हजारौं जातका रैथाने बीउहरुको संरक्षण भएको थियो।
यो हाम्रा पुर्खाहरुले हजारौं वर्षसम्म निरन्तर कृषि कार्य गर्दाको प्रतिफल हो। रैथाने बीउहरु कृषि अनुसन्धान केन्द्रमा विकास गरिएका होइनन् तर कृषि अनुसन्धान र विकास कार्यमा रैथाने जातहरुको विशेष महत्त्व रहेको छ। अधिकांश रैथाने बीउहरु विभिन्न किसिमका रोग तथा किरा सहने, सुख्खा वा खडेरी तथा बढी पानी सहने, खान मिठो तथा स्वादिलो हुने र कतिपयम औषधीय गुण र विभिन्न धार्मिक तथा जातीय संस्कारहरुमा प्रयोग हुने भएता पनि यसको संरक्षण र उपयोग गर्नुपर्छ भन्ने चेतना आजभोलिका कृषकहरुमा विरलै मात्र भएको अमरगढी नगरपालिका डडेल्धुरामा कार्यरत कृषि प्राविधिक रमेशबहादुर भण्डारीले बताए।
‘अनदी धान, तिल, फापर, पिँडालु, उवा, जौ, गहत, मस्याङ, कात्तिके बोडी, चिनो, कागुनो, कोदो जस्ता पोषणयुक्त बालीका जात विस्तारै हराउन थालेका छन्,’ उनले भने, ‘कृषकलाई ज्ञान कम भएर हो कि छिटो उत्पादन खोजेर हो।’ मानिसका लागि खाद्यान्न र पशुपन्छीका लागि दानाको बढ्दो आवश्यकता पूरा गर्न विकास गरिएको बीउ तथा प्रविधिको व्यापक विस्तार गरिनु तर रैथाने बीउ कसरी विकास भएका हुन् र त्यसको महत्त्व तथा संरक्षणको आवश्यकताबारे आम कृषक, कृषि विकासमा सम्बद्ध निकाय र शिक्षा प्रणालीमा समावेश नगरिएकाले हजारौं रैथाने बीउहरु लोप भइसकेका छन् भने बाँकी रहेकाहरुको पनि अस्तित्व संकटमा परेको कृषि विज्ञ डा दिल बहादुर विष्ट बताउँछन्।
‘हाम्रा कृषकमा ज्ञान छ तर छिटो उत्पादन खोज्छन्, कृषि विकासमा सम्बद्ध निकायको ध्यान केही छैन,’ डा विष्टले भने, ‘म कृषि ज्ञान केन्द्र प्रमुख रहँदा धेरै स्थानीय तहलाई गोष्ठीमार्फत् अनुरोध गरेँ, स्थानीय पाठ्यक्रममा पुराना बालीहरुको महत्त्व राखिदिनुस् भनेँ। तर खासै गरेको देखिएन। फलस्वरुप हजारौं रैथाने बीउहरु लोप भइसके, केही हुने क्रममा छन्।’
कृषकहरुको खेतबारीमा रैथाने बीउको संरंक्षणको कुरा त धेरै पर छ। हाम्रा पुर्खाहरुले हजारौं वर्ष लगाएर संरक्षण गरेका रैथाने बीउ हामीले एकै पुस्तामा गुमाइसकेको जानकारहरु बताउँछन्।
