
धनगढी : धनगढीमा सयपत्री फूलको दृश्यले चाडपर्वको माहोललाई थप उल्लासमय बनाइरहेको छ । सयपत्री र मखमलीका बोटमा ढकमक्क फुलेका फूलसँगै यसपालिको तिहार घर–आँगनमै आइसकेको छ । फूलैफूलको पर्व तिहारले गाउँघरमा उल्लासको वातावरण छँदै छ, त्यसैमा धनगढी र आसपासमा प्लटका प्लट फुलेका सयपत्री फूलको आकर्षणले यहाँको माहोल थप बेग्लै बनेको छ ।
धनगढी मटियारिकी सुशीला बिष्टले डेढ बिघा क्षेत्रफलमा फूल खेती गरेकी छन् । तीन वर्षयता एक कट्ठामा फूल लगाउँदै आएकी उनले यसपालादेखि खेती विस्तार गरेकी हुन् । वार्षिक एक लाख भाडा दिने गरी जग्गा लिएर पुष्प व्यवसाय गरेकी सुशीला आम्दानीबाट उत्साहित छिन् । ‘प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ,’ उनले भनिन् ‘अहिले त भ्याइनभ्याइ नै छ ।’
धनगढीकै जुगेडा घर भएकी कृतिका सिंहले पनि पाँच कट्ठा जमिनमा सयपत्री रोपेकी छन् । पोहोरसम्म त्यस जग्गामा धान खेती गर्दै आएकी उनले पहिलो पटक पुष्प खेती गरेकी हुन् । धानभन्दा पुष्प खेतीको आम्दानी कैयौं गुणा बढी भएपछि उनी पनि दंग छिन् । ‘धान लाउँदा बढीमा तीन बोरा फल्थ्यो । त्यसको मूल्य धेरैमा पनि १२ हजार हो । अहिले फूल खेती गर्दा तिहारअघि नै ४० हजार रुपैयाँ बराबरको बेचिसकें,’ कृतिकाले भनिन्, ‘तिहारमा त डेढ क्विन्टल जति बिक्री हुने र कम्तीमा एक लाख आम्दानी हुने अनुमान छ ।’
सुशीला र कृतिका मात्र होइनन्, धनगढीकै मोतीचोकमा सनराइज मल्टी एग्रो सञ्चालन गरेका जोगेन्द्र सेट्ठीले पनि उपमहानगरपालिकाबाट तालिम पाएपछि डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन् । धनगढी–१२ जुगेडाका प्रतापसिंह बिष्ट, जुगेडा ‘डी’ गाउँकी आशा पन्त मिश्र, धनगढी–१३ अम्बिका टोलका पुष्करसिंह बिष्टलगायत किसान अहिले फूल खेतीमा रमाइरहेका छन् ।
अहिले धनगढी क्षेत्रमै २८ भन्दा बढी किसानले व्यावसायिक पुष्प खेती गरिरहेका छन् । ‘धनगढी क्षेत्रमा पहिलो पटक पुष्प खेती गर्ने लहर देखिएको छ । धनगढीमै विभिन्न किसानको गरी एक सय कट्ठा जग्गामा पुष्पखेती गरिएको छ,’ धनगढी उपमहानगरपालिका कृषि शाखाका कृषि प्राविधिक लोकेन्द्र सिंहले भने । तिहारमै २० टन हाराहारीमा फूल फुल्ने सिंहले बताए । अहिले खुद्रा प्रतिकिलो ५ सय ५० र थोक ४ सय ५० रुपैयाँमा बिक्री भइरहेको उनको भनाइ छ । पुष्प खेतीमा यति धेरै किसानको आकर्षण बढ्नुमा धनगढी उपमहानगरपालिकाको नीतिले प्रोत्साहन गरेको किसान बताउँछन् । उपमहानगरले धनगढीमा पुष्प खेतीलाई प्रोत्साहन गर्न भारतबाट सयपत्री र प्लास्टिकका माला र बुके आयात गर्न नपाइने नियम लगाएको छ । धनगढी उपमहानगरपालिकाले ०७९ असोजदेखि प्लास्टिकका झोलाको प्रयोगमा निषेध गरिसकेको छ ।
उपमहानगरपालिकाले धनगढीलाई ‘फूलको हब’ बनाउने नीति लिएको छ । ‘किसानलाई आठ दिनको तालिम दियौं । पुष्प व्यवसायको सम्भावना र आम्दानीबारे बुझायौं,’ कृषि प्राविधिक सिंहले भने, ‘भारतबाट सयपत्री र प्लास्टिकका फूल आयात तथा बिक्री गर्न नपाइने नियम लगाएपछि पनि यसप्रति आकर्षण बढेको हो ।’ धनगढी उपमहानगरपालिका आफैंले पुष्प खेतीको प्रवर्द्धनका लागि १५ कट्ठा जग्गामा सयपत्री फूलको खेती गरेको उनले जनाए । किसानलाई व्यावसायिक उत्पादन गरे बजारको संकट नहुनेमा उपमहानगरपालिकाले आश्वस्त तुल्याएको छ । त्यसका लागि दोस्रो चरणमा फूलबाट सजावटका सामग्री तयार गर्ने तालिम पनि किसानलाई दिइएको सिंह बताउँछन् । ‘धनगढीमै खपत हुन नसके के गर्ने भन्ने उपायका लागि उपमहानगरले आफ्नै कर्मचारीलाई काठमाडौं पठाएर फ्लोरिकल्चर एसोसिएसनसँग पनि समन्वय गरिसकेको छ,’ सिंहले भने, ‘त्यसैले अब बजारको समस्या होला जस्तो लाग्दैन ।’
विगतमा घाँस खेती र भैंसीपालन गरिरहेकी मटियारीकी बिष्टले उपमहानगपालिकाबाट आठ दिनको तालिम पाएपछि व्यावसायिक पुष्प खेती सुरु गरेको बताइन् । ‘पुर्ख्यौली घर दार्चुलाबाट आएको नौ वर्ष भयो । सुरुमा मैले भैंसी पालें, तर मिहिनेतको तुलनामा खासै आम्दानी नभएपछि यतातिर लागेकी हुँ,’ उनले भनिन् ।
सुशीलाले अहिले आफ्नै लगानीमा शीतभण्डारसमेत निर्माण गरेकी छन् । ‘१० देखि १६ डिग्री तापक्रम कायम हुने उपकरणसहित फूल राख्न मिल्ने कोल्ड स्टोर पनि बनाएकी छु,’ उनले भनिन्, ‘यहाँ एक महिना जति फूल राख्न मिल्छ । कोल्ड स्टोमा करिब पाँच लाख खर्च भएको छ ।’ छाटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यस खेतीतर्फ किसानको आकर्षण बढिरहेको उनको भनाइ छ । रोपेको ८० देखि ९० दिनमा फुल्ने र पूजाआजा, घर सजावट र विवाह व्रतबन्ध आदि शुभकार्यमा फूलकै आवश्यकता हुने भएकाले मिहिनेत खेत नजाने उनको विश्वास छ ।
