अत्तरिया, ८ असोज : नेपाली कांग्रेस कैलालीका उपसभापति भीमबहादुर बडुवालले २५ महिनादेखि जिल्ला कमिटी बैठकमा बस्न नपाएको बताएका छन् ।
उनले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आफूले २५ महिनादेखि जिल्लाको पदाधिकारी तथा जिल्ला कमिटीको बैठकमा बस्न नपाएको बताए ।
२०८० जेठमा नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरण सतहमा आएको बेला जिल्ला सम्मेलनमा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव प्रस्तुत गरेदेखि नै पार्टीले विभिन्न बहानामा लखेट्ने कार्य सुरु गरेको उनले बताए । उनले अनुशासन आयोगबाट आफूलाई कारबाही नगरिएको बताए ।
उनले भने ‘मलाई अनुशासन आयोगले कारबाही गरेको चिठी छैन् । जिल्ला कमिटी बैठकमा बस्न पाउने मेरो अधिकार हो । तर पाएको छैन् ।
उनले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग उठाएका लोकराज पाण्डेय र सुरत कार्कींलाई जिल्ला सभापतिले बिनाकारण स्पष्टिकरण पनि नसोधी निष्कासन गर्ने निर्णय गरेको बताए ।
उनले भने ‘उपसभापतिको हैसियतमा मैले यसलाई गलत भने र आधिकारिक विज्ञप्ति जारी गरी त्यसैलाई नै आधार बनाई मलाई बैठकमै नबोलाउने निर्णय लिइयो । के उपसभापतिलाई लेटरप्याड प्रयोग गर्न पाउने अधिकार हुन्न ? कुन विधानमा त्यो लेखिएको छ । छ भने भन्नुप-यो ।’
त्यस्तै, उनले पार्टीको महाधिवेशन विधानअनुसार समयमै हुनुपर्ने बताए । २०८० साउन २२ पार्टीका जिल्ला सभापति नारायणदत्त भट्टले लोकराज पाण्डे (आगो) र सुरत कार्कीलाई अनुशासनको कारबाही गरेका थिए ।
उपसभापति बडुवालले उक्त कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याड प्रयोग गर्दै अर्को सूचना जारी गरेका थिए । सोही विषयलाई लिएर सभापति भट्टले बडुवाललाई स्पष्टीकरण सोधेका थिए ।
सम्बन्धित पाेस्टहरु