काठमाडौं : पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि आज पहिलोपटक सार्वजनिक भएका छन् । नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि उनी आज पत्रकारमाझ ब्रिफिङका लागि उपस्थित भए ।
जेनजी आन्दोलनमा १९ युवाहरूको गोली लागेर निधन भएपछि त्यही दिन लेखकले राजीनामा दिएका थिए । त्यसको केही दिनपछि उनी मातृशोकमा परे । १३ दिनको किरिया सकाएपछि लेखक आज सार्वजनिक भएका हुन् । उनले बरखी बारेकाले सेतो वस्त्र लगाएका थिए ।
सुरुमा लेखकले जेनजी आन्दोलनको विषयमा कुरा गरे । आन्दोलनका क्रममा दुःखदायी र पीडादायी घटनाहरु भएको भन्दै उनले ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली दिए ।
लेखकले भने, ‘आज मुलुक अत्यन्त अप्ठेरो परिस्थितिमा छ । गत भाद्र २३ र २४ गते अत्यन्त दुखद र पिडादायी घटना भए । नयाँ पिढीले केही महत्वपूर्ण र असल मागहरु राखेर प्रदर्शन गरेका थिए । तर, दुर्भाग्यवस आन्दोलनमा घुसपैठ भयो र दुस्खद पीडादायी घटनाहरू भएका छन् । यसबाट मलाई गहिरो पीडा भयो र त्यही दिन राजीनामा पनि दिएँ ।’
उनले आफूबाट गोली चलाउने आदेश नभएको र प्रधानमन्त्रीबाट पनि नभएको दावी समेत गरे । ‘प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको कुराहरू आएका छन् । यी विषयहरूमा (गोली चलाउने) प्रधानमन्त्री जोसुकै भए पनि, गृहमन्त्री जोसुकै भए पनि प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गर्ने हुँदैन । कुनै बल प्रयोगगको आदेश गरिएको छैन प्रधानमन्त्री र मेरो तर्फबाट’, लेखकले भने ।
उनले अहिले उत्तेजित हुने र आग्रह(पूर्वाग्रह एवं प्रतिशोध राख्ने समय नभएको बताए । ‘हामीले आग्रह, पूर्वाग्रह र प्रतिसोध राख्नु हुँदैन । मुलुकलाई लोकतान्त्रिक मूल्य र मान्यतामा अगाडि बढाएर ठिक ठाउँमा पुर्याउनका निम्ति हामीले संविधान र कानून बमोजिम आ-आफ्नो कार्यसम्पादन गर्नुपर्छ ।’