अत्तरिया : भारतबाट अवैध रूपमा भन्सार छली सामान नेपाल भित्र्याउने क्रममा कैलालीमा दुई महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण मुख्यालय कैलालीबाट खटिएको टोलीले असोज २८ गते राति करिब ११ बजे धनगढी उप–महानगरपालिका–१ त्रिवेणीघाट इलाकामा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–८ निवासी ४० वर्षीया शान्ति बोहरा र ३४ वर्षीया हस्मिता चौधरी रहेका छन् । उनीहरूबाट २ लाख १३ हजार बराबरको सामान बरामद गरिएको छ ।
उनीहरुमध्ये चौधरी यस अगाडि पनि भारतबाट भन्सार छलीका सामान ल्याउँदै गरेको अवस्थामा फरार भएकी थिइन् । त्यसबेला ९ लाखको मोबाईल पार्टसको सामान बरामद भएपनी उनी पक्राउ पर्न सकेकी थिइनन् । तर सशस्त्रले मंगलबार भने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका सामानसहित उनीहरूलाई भन्सार ऐन २०६४ बमोजिम आवश्यक कारबाहीका लागि बुझाएको जनाएको छ ।