धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित बङ्गरामा उत्पादित सयपत्री फूलको माला बेलायत पठाइएको छ । बेलायतमा रहेका नेपालीले तिहारका लागि माग गरेपछि सयपत्री फूलको माला बनाएर बेलायत पठाइएको हो । तिहारका लागि बेलायतमा तीन सय थान माला पठाएको व्यावसायिक फूल खेतीमा सक्रिय रोशन साउदले जानकारी दिए ।
“फूलका लागि थुप्रै अर्डर आएको छ,” उनले भने, “फूल मात्रै र माला बनाएर बिक्री गर्दै आएका छौँ । यस वर्ष पहिलो पटक बेलायत पनि पठाएका छौँ ।”
अछामको मेल्लेख गाउँपालिका–३ का साउदसहित दशरथ साउद र कपिलवस्तुका भास्कर पङ्गेनीले बङ्गरामा २२ कट्ठा जग्गा भाडामा लिएर विगत चार वर्षदेखि फूल खेती गर्दै आएका छन । कृषि प्राविधिक तिनै जनाले मिलेर धनगढीसहित दाङ, बाँकेको कोहलपुर र कपिलवस्तुमा गरेर करिब नौ बिघा जमिनमा पुष्प खेतीलगायत अन्य कृषि बालीको खेती गरेको छन् ।
तिहार नजिकिएसँगै सयपत्री फूल बारीमा ढकमक्क भइसकेको छ । यस वर्षको तिहारका लागि सयपत्री फूल तयार भइसकेको साउदले जानकारी दिए । उनले सयपत्रीको माला बनाउने, गाँस्न ६०/७० जनाले रोजगारी पाइरहेको बताए।
यस वर्ष गत वर्षभन्दा तिहार छिट्टै परेको र फूल उत्पादन पनि राम्रो भएका कारण फाइदा हुने अपेक्षा गरेको साउदले बताए । उनको दी डिभाइन एग्रो फार्म नर्सरी एन्ड रिसर्च सेन्टरबाट सयपत्री फूल प्रतिकिलो पाँच सय र माला प्रतिमाला एक सयदेखि दुई सय रुपियाँमा बिक्री भइरहेको छ ।