नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित

काठमाण्डौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो हार भोगेको छ।
आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको हो। अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३१.१ ओभरमा १ सय ५६ रनमा अलआउट भयो। नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए।

आशिफ शेखले ३७ र भीम सार्कीले २९ रन बनाए। आरिफ शेखले २० रन बनाए। त्यसअघि युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रनको योगफल तयार पारेको थियो।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए। उनले १ सय बलमा ९ चौका सहयोगमा ७५ रन बनाउँदा रन आउट हुन पुगे।

साइतेजा मुक्कमल्लाले ४२ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट हुन पुगे। मिलिन्ड कुमार ७० रनमा अविजित रहे। आन्द्रेस घोषले ११, कप्तान मोनान्क पटेलले १० रन थपे।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट झारे। सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान एक विकेट आफ्नो नाममा गरे।
सिरिजको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध खेल्नेछ। शनिबार पुनः अमेरिकासँग र आगामी बुधबार यूएईसँग खेल्ने तालिका छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.