छठ पर्वको रौनक, नदी किनारमा श्रद्धालुहरूको भीड

धनगढी  : धनगढीमा सूर्य उपासना तथा लोकआस्थाको पर्व छठ धुमधामका साथ मनाइएको छ । धनगढीको सीमा भएर बग्ने मोहना नदीको तट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै श्रद्धापूर्वक सम्पन्न भएको हो ।

गत शनिबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको यो पर्व भोली (मंगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत् समापन हुन्छ । यस वर्ष मोहना नदीको किनार झकिझकाउ छ । छठ पूजा सेवा समिति धनगढीको आयोजनामा सयौं पूजा कक्ष (छठी घाट) निर्माण गरी पूजाको तयारी गरिएको थियो । करिब तीन सयभन्दा बढी पूजा कक्षहरू निर्माण गरिएका छन् ।

समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार सुरुवाती वर्षहरूमा छठका बेला पूजास्थल सुनसान हुने गथ्र्यो, तर पछिल्ला वर्षमा ब्रतालुहरूको चहलपहल निकै बढेको छ । उनका अनुसार करिब साढे दुई दशकअघि पाँच वटा पालसहितको घर बनाएर छठ मनाउने चलन सुरु भएको थियो । अहिले भने हजारौँ श्रद्धालु मोहना किनारमा पुग्ने गरेका छन् । पूजास्थल वरपर रमाइलो मेलाको समेत आयोजना गरिएको छ, जसले वातावरणलाई झनै रंगीन बनाएको छ ।

सुरुवाती समयमा छठ पर्व मिथिला समुदायमा मात्र सीमित रहेको भए पनि पछिल्ला वर्षहरूमा यस पर्वले सुदूरपश्चिमका अन्य समुदायहरूमा पनि स्थान पाएको छ । थारु, रानाथारु तथा पहाडी समुदायका व्यक्तिहरू पनि अहिले छठ पर्वमा सहभागिता जनाउने गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझाका अनुसार छठ मनाउनेको संख्या वर्षेनि बढ्दै गएको छ । उनले भने, “परिवार विस्तार, रोजगारी, व्यापार र बसाइसराइका कारण मिथिला समुदायका नागरिक धनगढीमा आउँदा यो पर्व यहाँ पनि फैलिएको हो । अहिले अन्य समुदायका नागरिक पनि श्रद्धापूर्वक सहभागी हुन्छन् ।” छठ पर्वको परम्पराअनुसार ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने गर्छन् ।

बाँसको ढाकी, माटोको कोसिया–कुरबार, ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, मिठाई र फलफूल आदिलाई प्रसादका रूपमा सूर्यदेवलाई अर्पण गरिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिई अर्पण गरिएका यी सामग्रीलाई पछि प्रसादका रूपमा ग्रहण र वितरण गरिन्छ । पौराणिक ग्रन्थ महाभारतमा पनि सूर्य उपासना गरिएको उल्लेख पाइन्छ । द्रोपदी र पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको जनश्रुति छ । त्यही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

अध्यक्ष सन्तोष मण्डलका अनुसार, “पहिले सात–आठ परिवारमात्र मोहना नदीमा पुग्थे, अहिले हजारौँ नागरिक सहभागी हुन्छन् । छठ पर्वले सामाजिक सद्भाव र आपसी एकतालाई झनै मजबुत बनाएको छ ।” सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै आस्थाको यो महान् पर्व सफलतापूर्वक सम्पन्न भएको छ । श्रद्धा, निष्ठा र कठोर साधनाको प्रतीक यो पर्व सुदूरपश्चिममा पनि विस्तारै सामाजिक एकताको सेतुका रूपमा स्थापित हुँदै गएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.