धनगढी : १९ औँ संस्करणको सुदूरपश्चिम महोत्सव–२०८२ अन्तर्गत आयोजित कृषि प्रदर्शनीमा सहभागी १५५ जना किसानलाई सम्मान गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न प्रदर्शनीले सुदूरपश्चिम प्रदेशका किसानको उत्पादन क्षमता, मेहनत र नवप्रवर्तनलाई उजागर गरेको आयोजकले जनाएको छ।
कैलाली उद्योग वाणिज्य संघका सदस्य तथा कृषि संयोजक शुभ ठाकुरको संयोजकत्वमा महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि प्रदर्शनीमा किसानहरूले ३८९ प्रकारका बाली तथा विविध कृषि वस्तुहरू प्रदर्शन गरेका थिए। प्रदर्शनीमार्फत परम्परागतदेखि आधुनिक कृषि उत्पादनसम्मलाई एउटै थलोमा प्रस्तुत गरिएको थियो।
प्रदर्शनीअन्तर्गत अन्नबाली, तरकारी, फलफूल, मसला, दलहनलगायत १६ विधामा उत्कृष्ट किसान तथा उत्पादन छनोट गरी पुरस्कार वितरण गरिएको हो। पुरस्कारतर्फ प्रथम हुने १५ जना किसानलाई जनही ५ हजार रुपैयाँ, द्वितीय हुने १५ जनालाई जनही ३ हजार रुपैयाँ, तृतीय हुने १४ जनालाई जनही २ हजार रुपैयाँ प्रदान गरिएको छ।
त्यसैगरी सान्त्वना चौथो स्थान प्राप्त ११ जना र सान्त्वना पाँचौँ स्थान प्राप्त १० जना किसानलाई जनही १–१ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।
कृषि ज्ञान केन्द्र धनगढीको सहयोगमा सञ्चालित प्रदर्शनीमा सहभागी सबै किसानलाई पानी हाल्ने हजारीसमेत वितरण गरिएको कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ। आयोजकका अनुसार प्रदर्शनीले किसानलाई हौसला प्रदान गर्नुका साथै व्यावसायिक कृषितर्फ आकर्षित गर्ने उद्देश्य बोकेको छ।
प्रदर्शनी अवलोकनका लागि विभिन्न विद्यालयका विद्यार्थी, कृषक, कृषि विज्ञ तथा सर्वसाधारण गरी हजारौँ दर्शकको उपस्थिति रहेको थियो। अवलोकनकर्ताले स्थानीय उत्पादनको प्रवर्द्धन र कृषिमा आधारित उद्यम विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने प्रतिक्रिया दिएका छन्।
‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने नारासहित सञ्चालन भइरहेको १९ औँ सुदूरपश्चिम महोत्सव–२०८२मा विविध कार्यक्रमहरु सञ्चालन भैरहेका छन्।