धनगढी : धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव २०८२ को अवधि बढाइएको छ। महोत्सवप्रति देखिएको उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चाप तथा सरोकारवालाहरूको मागलाई मध्यनजर गर्दै आयोजक कैलाली उद्योग वाणिज्य संघ ले महोत्सवको समापन मिति पुष ६ गतेसम्म कायम गर्ने निर्णय गरेको हो।
संघका अनुसार महोत्सव सञ्चालनको आठौं दिनसम्म आइपुग्दा करिब १० करोड रुपैयाँको आर्थिक कारोबार भएको छ भने अनुमानित ३ लाख दर्शकले महोत्सव अवलोकन गरेका छन्। यसले स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धनका साथै पर्यटन र सांस्कृतिक पहिचान उजागर गर्न उल्लेखनीय योगदान पुगेको आयोजकको जनाएको छ।
२०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको यो १९ औं संस्करण हो। देशको वर्तमान आर्थिक र सामाजिक चुनौतीका बीच उद्योग–व्यवसायलाई आशावादी बनाउँदै पुनर्जीवन दिने उद्देश्यले महोत्सव आयोजना गरिएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।
संघका अध्यक्ष पुष्कर राज ओझा ले महोत्सवलाई भव्य र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यवसायी, प्रायोजक, सुरक्षा निकाय, कलाकार, सञ्चारकर्मी तथा दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि सबै पक्षबाट निरन्तर सहयोग र सहभागिताको अपेक्षा रहेको बताए।
आयोजकले सुदूरपश्चिम महोत्सवलाई प्रदेशको मात्र नभई राष्ट्रकै नमुना महोत्सवको रूपमा थप उचाइमा पुर्याउन सबै राजनीतिक दल, तीनै तहका सरकार, सरकारी तथा गैरसरकारी संस्था, पत्रकार, विद्यार्थी र आम नागरिकलाई अधिकतम सहभागिता जनाउन आग्रह गरेको छ।