धनगढी , २ पुस : धनगढीमा भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता हुने भएको छ । बाजुरेली समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता २०८१ धनगढीमा आयोजना हुने भएको हो । धनगढी रङ्गशालाको प्राङ्गणमा उक्त प्रतियोगिता सञ्चालन गरिने छ ।
बाजुरेली सेवा समाज धनगढी, कैलालीको आयोजना तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको प्रायोजकत्वमा पुष ४ गतेदेखि ६ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले बुधबार धनगढीमा पत्रकार सम्मेल गरेर जानकारी दिएको हो ।
पुस ४ गते भुवापर्व महोत्सवको औपचारिक उद्घाटन तथा भुवाचाली खेल प्रदर्शन, ५ गते भुवाचाली खेल प्रतियोगिता र ६ गते पुरस्कार, प्रमाणपत्र तथा प्रशंसापत्र वितरण, भुवाचाली प्रदर्शनी, देउडा लगायत विभिन्न मौलिक सांस्कृतिक प्रस्तुतिसहित महोत्सवको समापन हुने समाजका अध्यक्ष भरत केसीले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता हुने अनुमानको रहेको उनले जनाए । उनले पुस ३ गतेसम्म टिम दर्ताको समय राखिएको बताए । साथै महोत्सवमा प्रत्येक दिन भुवाचाली प्रदर्शन, लाइभ देउडा लगायत चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहने उनले बताए ।
उनले भने ‘भूवापर्वको ऐतिहासिक पृष्ठभूमि हेर्दा भारतको हरियाणा राज्यस्थित कुरुक्षेत्रमा पाँच भाइ पाण्डव र सय भाइ कौरवबीच भएको युद्धमा सत्यको पक्षमा रहेका पाण्डवहरूको विजय भएको जनविश्वास रहिआएको छ ।’
महोत्सव अन्तर्गत सञ्चालन हुने भुवाचाली खेल प्रतियोगितामा सहभागी टोलीहरूबीच प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, सहभागी सबै टोलीलाई १०–१० हजार नगदसहित, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार भुवा पर्व बाजुरेली समाजको पहिचानसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस महोत्सवले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति चिन्न र संरक्षणमा जोडिन प्रेरणा दिने विश्वास लिइएको छ । महोत्सवमा भुवाचाली खेलसँगै सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति तथा समुदायबीच आपसी सद्भाव सुदृढ बनाउने गतिविधिहरू समेटिने बताइएको छ ।
आयोजकले सम्पूर्ण कला संस्कृति प्रेमी, खेलप्रेमी तथा सर्वसाधारणलाई महोत्सवमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेको छ । असत्यमाथि सत्यको विजयको खुसीयालीस्वरूप सो युद्धमा प्रयोग गरिएका ढाल र तरवार नचाई खेलिने खेल नै आजको भुवाचाली खेलको रूपमा विकास भएको ऐतिहासिक मान्यता रहेको छ । नयाँ पुस्तामा यो पर्व लोप भएर जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै यसको संरक्षण, प्रवर्धन तथा पुस्तान्तरणका लागि बाजुरेली सेवा समाजले विगत तीन वर्षदेखि भुवापर्व महोत्सव भुवाचाली खेल प्रतियोगिता आयोजना गर्दै आएको छ ।