गोदावरी नगरपालिकामा अण्डर–१६ फुटबल खेलाडी छनौट हुँदै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा १६ वर्ष मुनिका (अण्डर–१६) फुटबल खेलाडीहरुको छनौट गरिने भएको छ । एन्फाबाट मान्यता प्राप्त कैलाली जिल्ला फुटबल संघ (केडिएफए) को आयोजनामा बद्री कुन्ट मेमोरियल जिल्ला स्तरीय यु–१६ स्मार्ट जेनेरेशन च्याम्पियनशिप २०२५ का लागि खेलाडी छनौट प्रक्रिया सुरु हुन लागेको हो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ जिल्ला स्तरीय प्रतियोगिताका लागि गोदावरी नगरपालिकाबाट करिब ३० जना उत्कृष्ट युवा खेलाडी छनौट गरिने कैलाली जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगितामा गोदावरी नगरपालिकाको प्रतिनिधित्व गराउने जिम्मेवारी गोदावरी नगरपालिका वडा नं. ३ मालाखेतीमा रहेको संघर्ष स्पोट्र्स क्लबलाई प्रदान गरिएको छ ।

संघर्ष स्पोट्र्स क्लबले गोदावरी नगरपालिकाभित्रका प्रतिभावान अण्डर–१६ उमेर समूहका खेलाडीहरुको छनौट पौष ४ गतेदेखि सुरु हुने जनाइएको छ । छनौट प्रक्रिया गोदावरी नगरपालिका वडा नं. ३ स्थित लेमनग्रास खेल मैदानमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ ।

यसअघि संघर्ष स्पोट्र्स क्लबको होम ग्राउण्डमा छनौट गर्ने तयारी भए पनि मर्मत कार्यका कारण पूर्वनिर्धारित कार्यक्रम परिमार्जन गरी लेमनग्रास खेल मैदानमा छनौट गरिने क्लबले जनाएको छ । छनौट प्रक्रियामा सहभागिता जनाउन इच्छुक सबै खेलाडीहरुलाई समयमै उपस्थित हुन आग्रह समेत गरेको छ ।

प्रतियोगिता छनौट भोलि अर्थात् शुक्रबार देखि सुरु भई ३ दिन सम्म संचालन हुने भएको छ । कैलाली जिल्ला फुटबल संघका अनुसार फुटबल खेलाडीहरुको लागि व्यवसायीक ढोका र राष्ट्रिय खेलाडीहरुको निमार्ण तथा छनौटको पनि जग रहेको यू–१६ उमेर समुहका खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउने अवसरका रुपमा कैलाली जिल्लामा रहेका १३ वटै स्थानिय पालिकाको प्रतिनिधित्व गरी छनौट गरिने भएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.