धनगढीमा भुवा महोत्सव सुरु

धनगढी  : धनगढीमा भुवा पर्व महोत्सव सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती खड्काले एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गरेकी छन् । उनले उद्घाटन गर्दै भुवा पर्वको संस्कृति पुस्तान्तरण हुन जरुरी रहेको बताईन् । प्रदेश सरकार संस्कृतिको संरक्षण गर्नमा प्रतिबद्ध रहेको बताइन । उनले यस प्रकारका महोत्सव प्रतियोगिताले पुर्खा देखि चल्दै आएको संस्करलाई जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । त्यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिस्ठानका उपकुलपति डा. टिएन जोशीले समाजमा रहेका संस्कार र संस्कृति जोगाउन दायित्व सबैको रहेको बताए । सबैको सल्लाह सुझाव लिएर नै आफुहरु अगाडि बढ्ने उनले बताए ।

धनगढीको कभर्डलमा भईरहेको महोत्सव तीन दिन सम्म सञ्चालन हुने छ । महोत्सवमा भुवाचाली खेल प्रतियोगिता सञ्चालन हुने छ । यस बर्ष भुवा प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
बाजुरेली सेवा समाज धनगढीले भुवा महोत्सव मनाउने गरेको छ । बाजुरेली समाज धनगढीका अध्यक्ष भरत केसीले यस पटक भुवा प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, सहभागी सबै टोलीलाई १०–१० हजार नगदसहित, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिने छ । समाजका वरिष्ठ उपाध्यक्ष रामचन्द्र जोशीले भुवा पर्वको गरिमा जोगाउनका लागि केहि बर्ष यता प्रतियोगिताका रुपमा मनाई रहेको बताए ।

भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्व रहेको छ । बाजुरेली सेवा समाजका पुर्व अध्यक्ष समेत रहेका बजिरसिंह धामीका अनुसार भुवा प्राचीन संस्कृति हो । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जसको आफ्नै मौलिक विशेषता रहेको उनले बताए
पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरुको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको किम्बंदन्ती रहेको छ ।

पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । जसको सुरुवातदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको छ । बाजुरा घर भएका हाल धनगढी भेटिएका मना रोकायाका अनुसार पुसे औँसीको राति भुवाखडोमा आगो बालिन्छ । आगो तापेर नुहाई–धुवाई सरसफाइ गरेर घरमा मिठो–मसिनो खाना बनाइएको हुन्छ । खाना खाएर अनि आफ्ना हतियारहरू ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ ।

यसरी चम्किलो बनाइएको तरबारहरू चाली खेल्दा घाममा टलक्क टल्किन्छ । औँसीको भोलिपल्ट लुगा कपडा धोएर हातहतियार सजाउने, टल्काउने काम हुन्छ । अनि द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिने बताइन्छ । भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादर जस्तो पहिरनुपर्छ । टाउकोमा पघरी बाँध्नुपर्छ ।

दिउँसोको समयमा भुवाखडोमा गएपछि भुवाको रौनक सुरु हुन्छ । बाजागाजाका साथ दमाहाले पनि अनेक धुन बजाउँछन्, बाजागाजा, लस्कर हुँदै औँसी र प्रतिपदाका दिन चम्काएका ढाल तरबार बाजागाजा भूवाको लयमा चम्कन सुरु हुन्छ । बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्त गतिबाट भुवा खेल खेल्ने गरिन्छ । खेलमा २० भन्दा वटा चाली वा लय र ६३ कवच हुन्छ ।

यसैबिच छरछिमेकहरूले आ–आफ्नो घरमा मिठामिठा परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन् । दसैँपछिको ठुलो पर्वको रूपमा लिइने यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाइबिचको सम्बन्ध प्रगाढ हुने जनविश्वास उत्तिकै छ । हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घर–घरमा गई भोस्को खेलिने हुँदा जसबाट घरमा श्रीसम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति–विसङ्गतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएको बताइन्छ । केहि बर्ष धनगढीमा पनि भुवा पर्व उत्सवका रुपमा मनाईन थालेपछि आफन्तसंग भेटघाट गर्ने अवसरका रुपमा स्थानीयहरु लिने गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.