धनगढीमा भुवाचाली खेल प्रतियोगिता, बाजुरेली समाज धनगढी भयो प्रथम

धनगढी : भुवाचाली प्रतियोगितामा बाजुरेली सेवा समाज धनगढी प्रथम भएको छ । अघिल्लो बर्ष भएको भुवाचाली प्रतियोगितामा बाजुरेली समाज धनगढी नै प्रथम भएको थियो । शनिबार भएको प्रतियोगितामा आयोजक समेत रहेको बाजुरेली समाज धनगढी प्रथम भएको हो । भुवाचाली प्रतियोगिताका निर्णायक संयोजक लालबहादुर थापाका अनुसार सुर्मादेवी मन्दिर व्यवस्थापन समिति धनगढी १२ दोस्रो भएको छ । प्रतियोगितामा बाजुरा अछाम भुवा समिति तेस्रो भएको छ । यस्तैगरी बडीमालिका एकता समाज कञ्चनपुर शान्त्वना भएको संयोजक थापाले जानकारी दिएका छन् ।

भुवाचाली प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ, सान्त्वना हुनेलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, सहभागी सबै टोलीलाई १०–१० हजार नगदसहित, प्रमाणपत्र प्रदान गरिने छ । आज दिउँसो प्रतियोगिता भईरहेको स्थल धनगढी कभर्डलमा विजेता टिमलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । बडीमालिका भुवा समिति गोदावरी नगरपालिका–३ कैलाली, सर्मादेवी समाज धनगढी, बाजुरेली भुवा समाज शिखरझाला, सर्मादेवी लोक सांस्कृतिक समाज फूलबारी, गरी ८ टिमको सहभागिता रहेको हो
सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, डोटी, अछाम, बझाङ लगायतका क्षेत्रमा आ–आफ्नै संस्कार र परम्परा अनुसार भूवापर्व मनाउँदै आइएको छ ।

पछिल्ला वर्षहरूमा पहाडबाट तराईका जिल्लाहरुमा बसाई सरेका समुदायहरूले पनि निरन्तर रूपमा यो पर्व मनाउँदै आएका छन् । पछिल्लो समय भुवा पर्व कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।
पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा यो पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको खुसीयालीस्वरूप सो युद्धमा प्रयोग गरिएका ढाल र तरवार नचाई खेलिने खेल नै आजको भुवाचाली खेलको रूपमा विकास भएको ऐतिहासिक मान्यता रहेको छ । प्रतियोगितालाई आगामि दिनमा पनि निरन्तरता दिने आयोजक बाजुरेली समाज धनगढीका अध्यक्ष भरत केसीले बताएका छन् । यसमा सबैको सहयोग रहेमा अझ व्यवस्ति रहने उनले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.