सेवा विस्तारसँगै गुणस्तरीय उपचारमा अग्रसर धनगढीको नवजीवन अस्पताल

धनगढी : सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित धनगढीमा स्थापना भएको नवजीवन अस्पताल यहाँको क्षेत्रीय स्वास्थ्य प्रणालीको महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भएको छ ।
अस्पतालले आफ्नो २० औँ वार्षिक उत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमार्फत विगत दुई दशकको उपलब्धि र भावी योजनाबारे जानकारी गराएको छ । मेडिकल डाइरेक्टर डा. बिदुरमणी ढकालका अनुसार अस्पतालले २०६२ सालमा १५ शैयाबाट औपचारिक सेवा सुरु गरेको थियो । चरणबद्ध रूपमा पूर्वाधार विकास र सेवा विस्तार गर्दै २०७९ सालदेखि १०० शैयाको स्वीकृतिसहित पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । “स्थापनाकालदेखि नै उपचार सेवासँगै स्वास्थ्य चेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएका छौँ,” उनले भने ।
अस्पतालमा इमर्जेन्सी, बहिरंग (ओपीडी) तथा अन्तरंग (आईपीडी) सेवा नियमित सञ्चालनमा छन् । निःशुल्क सुत्केरी सेवा, खोप कार्यक्रम तथा विभिन्न स्वास्थ्य शिविरमार्फत समुदायमै पुगेर सेवा प्रदान गर्दै आएको अस्पतालले ग्रामीण तथा विपन्न वर्गलाई प्रत्यक्ष लाभ पु¥याएको जनाएको छ । विशेषज्ञ सेवा विस्तारसँगै अस्पतालमा हाडजोर्नी तथा नसा रोग, प्रसूति तथा स्त्रीरोग, सामान्य चिकित्सा, मिर्गौला रोग, बालरोग, कान–नाक–घाँटी, मानसिक रोग, छाला तथा यौन रोग, कलेजो रोग, हार्मोन तथा मधुमेह, सामान्य शल्यक्रिया, न्युरो सर्जरी, युरोलोजी, एनेस्थेसियोलोजी, आकस्मिक सेवा, रेडियोलोजी तथा इमेजिङ, प्याथोलोजी, दन्तरोग, फिजियोथेरापी तथा पुनस्र्थापना, नर्सिङ र फार्मेसी विभाग सञ्चालनमा छन् ।
साथै आइसियु, एनआइसियु, हेमोडायलाइसिस, सीटी स्क्यान तथा २४ घण्टा एम्बुलेन्स सेवाको उपलब्धताले गम्भीर बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहयोग पुगेको अस्पतालले जनाएको छ । आधुनिक उपकरणको प्रयोग र दक्ष जनशक्तिको संयोजनले सेवा प्रवाह थप प्रभावकारी बनेको दाबी गरिएको छ । अस्पतालअन्तर्गत सञ्चालित नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्ससमार्फत दक्ष स्वास्थ्यकर्मी उत्पादन भइरहेका छन् । यहाँ अध्ययनरत विद्यार्थीहरूले स्वास्थ्य सेवामा सकारात्मक योगदान पु¥याइरहेको उल्लेख गरिएको छ ।
२० औँ वार्षिक उत्सवको उपलक्ष्यमा अस्पताल प्राङ्गणमै रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको अस्पतालले जनाएको छ । विशेषज्ञ सेवा विस्तार, आधुनिक उपकरणको प्रयोग तथा समुदायकेन्द्रित कार्यक्रमका कारण नवजीवन अस्पताल सुदूरपश्चिमका नागरिकका लागि विश्वासिलो स्वास्थ्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । आगामी दिनमा सेवा गुणस्तर अभिवृद्धि र थप विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्य अस्पतालले लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.