बैतडी : प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन् ।
उनी २२ हजार १ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत ल्याएका छन् ।
बैतडीबाट तीन पटक लगातार जितेर चार पटक मन्त्री भएका एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरेका छन् । नेकपाका परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत ल्याएका छन् । राप्रपका भुपेनबहादुर चन्दले २ हजार ६८१ मत ल्याए ।
बैतडीमा ७२ हजार ८४३ मत खसेकोमा ५ हजार ११३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गरेका हरिमोहन भण्डारी नेपाली कांग्रेस हुँदै यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी तत्कालिन नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्टसँग पराजित भएका थिए । २०७९ सालमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यो बेला उनी कांग्रेसका आधिकारिक उम्मेदवार बिरबहादुर बिष्ट भन्दा बढी मत ल्याएपनि एमालेका सुरेन्द्र पालसँग पराजित भएका थिए ।
२०७९ सालमा कांग्रेसबाट विद्रोह गरेका भण्डारीलाई कांग्रेसले कारवाही गरेको थियो । चुनाव नजिक आएका बेला उनको कारवाही फुकुवा गरिएको भएपनि उनी रास्वपामा प्रवेश गरिसकेका थिए ।