कैलाली– कञ्चनपुरमा ‘क्लिन स्वीप’ गर्दै रास्वपाले सुदूरपश्चिममा जित्यो १० सिट

धनगढी  : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कैलाली र कञ्चनपुरका आठवटै निर्वाचन क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ । कैलालीका पाँच र कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाले भारी मतान्तरको जित निकालेको हो । यस्तै मध्यपहाडी जिल्ला डडेल्धुरा र बैतडीमा पनि रास्वपा उम्मेदवार विजयी भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भइन् । नागरिक उन्मुक्ति पार्टीबाट राजनीति सुरु गरेकी उनी उम्मेदवारी दर्ताको केही समयअघि मात्रै रास्वपा प्रवेश गरेकी थिइन् । उनले कांग्रेसका जनकराज चौधरी र टीकापुरको मेयरबाट राजीनामा दिएर नेकपा उम्मेदवार बनेका रामलाल डगौरा थारुलाई भारी मतान्तरले पराजित गरेकी हुन् ।

कैलाली– २ मा रास्वपाकै केपी खनाल विजयी भएका छन् । सरसफाइ अभियन्ताको पहिचान बनाएका खनाल २६ वर्षको उमेरमा संसदीय यात्रा आरम्भ गर्न सफल भए । उनी बालेन शाहपछि रास्वपा प्रवेश भएका थिए । उनी शाहनिकट मानिन्छन् । खनालले एमालेका सूर्यबहादुर थापा, कांग्रेसका विजय स्वाँर र नाउपा नेपालका पतिराम चौधरीलगायतका उम्मेदवारलाई पराजित गरेका छन् ।

कैलाली ३ मा रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाबाट स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव लडेका जोशी यसपटक रास्वपाबाट उम्मेदवार भएर विजयी भएका हुन् । उनले २० हजार ३५९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याए । कांग्रेसका भीम बडुवालले ९ हजार ७०६ मत ल्याए । एमालेका गौरीशंकर चौधरीको त धरौटी नै जफत भएको छ ।

कैलाली– ४ मा रास्वपाकै खेमराज कोइराला विजयी भए । विद्यार्थीकालमा गजलकारको पहिचान बनाएका उनी राजनीतिमा यसअघि देखिएका थिएनन् । कोइराला २८ हजार ५५६ मत ल्याउँदै विजयी भएका हुन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत लिए । नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट तेस्रो बने । उनले ९ हजार ४४४ मत ल्याए । कैलाली निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्दै आएका लेखराज एक चुनाव बिराएर जित निकाल्न सफल हुँदै आएका थिए । तर, यसपटकको पराजयले उनको निरन्तर हार भएको छ । २०७९ सालको निर्वाचनमा भट्ट कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए ।

कांग्रेसले आफ्नो गढ बताउँदै आएको कैलाली– ५ मा यसपटक रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भए । उनी शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा सक्रिय थिए । जिल्लास्तरमा परिचित नभएका उनलाई एकाएक रास्वपाले उम्मेदवार बनाएको थियो । चन्द ३१ हजार ९५३ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत ल्याए । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रेमबहादुर आलेले ७ हजार ८७६ र नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत प्राप्त गरे ।

कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी फराकिलो मतान्तरले विजयी भए । धामीले नेकपाकी बिना मगर एमालेका तारा लामा तामाङलाई पराजित गरे । धामीले २४ हजार ३३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी मगरले ११ हजार ११० मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरेका छन् । एमालेका तामाङले आठ हजार ८८ मत प्राप्त गरे ।

यस्तै, कञ्चनपुर–२ मा पनि रास्वपाका दीपक बोहरा भारी मतान्तरले विजयी भए । उनी पूर्वपत्रकार हुन् । रास्वपा सभापति रवि लामिछानेका दाइने हात मानिने बोहराले डेढ दशक पत्रकारिता गरेका छन् । बोहरा कांग्रेस नेता पूर्वमन्त्री एनपी साउदलाई २३ हजार १२५ मतान्तरले पराजित गर्दै विजयी भए । उनले ३३ हजार ९५२ मत प्राप्त गरे । साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् ।

यस्तै, कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन् । महता पनि पूर्वपत्रकार हुन् । ग्यालेक्सी टेलिभिजनमा काम गरेका उनले पत्रकारिता छोडेर राजनीति सुरु गरेका थिए । उनी रास्वपा सुदूरपश्चिमका संस्थापक इञ्चार्ज पनि हुन् । महताले २७ हजार ११८ मत प्राप्त गर्दा कांग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.