अत्तरिया, ४ चैत : नागरिक लगानी कोष र निसर्ग हस्पिटलबीच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कोषका कर्मचारी, सेयरधनी तथा आबद्ध सहभागीहरूले निसर्ग हस्पिटलमा उपचार गराउँदा ५ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतामा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्त र नागरिक लगानी कोषका शाखा प्रमुख दिपक घिमिरेले हस्ताक्षर गरेका छन् । यस सहकार्यले कोषसँग आवद्ध व्यक्तिहरूलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निजी क्षेत्रबाट सञ्चालित निसर्ग हस्पिटल सुदूरपश्चिम क्षेत्रमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल हो । १०० शैयाको क्षमता रहेको यस अस्पतालले २४ सै घन्टा विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । सम्झौताले सेवाग्राहीलाई गुणस्तरीय उपचारमा पहुँच विस्तार गर्ने विश्वास लिइएको छ ।