अत्तरिया । प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक हप्ताभित्र सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन बोलाउन माग गरेको छ ।
नेकपा प्रदेश संसदीय दलले प्रदेशसभाको अधिवेशन तत्काल बोलाउन माग गर्दै मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले शुक्रबार मुख्यमन्त्री शाहलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
हिउँदे अधिवेशन हालसम्म पनि आव्हान नभएको अवस्थामा चालु आवको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था एकदमै न्यून रहेको, प्रदेश सरकारले सुशासन कायम गर्न नसकी सञ्चार माध्यममा विभिन्न गुनासाहरु सुन्नमा आएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ ‘प्रदेश सभा सचिवालयमा विधेयकहरु दर्ता भएर पनि विधेयक पारित प्रक्रिया अगाडी बढ्न नसकेको, सरकार आफ्ना कार्यकर्ताहरुलाई खुशी पार्न विभिन्न राजनीतिक नियुक्तिहरु गर्दै गएको छ ।’
त्यस्तै,प्रदेश सरकारका मुख्यमन्त्रीमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोपको छानबिन प्रक्रिया अघि नबढाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
जननिर्वाचित सांसदहरुको सरकारका कामकारबाही बारे प्रश्न गर्ने एक मात्र थलोको रुपमा रहेको संसद उल्लेख गर्दे नेकपाले एक हप्ता भित्र प्रदेश सभाको नियमित अधिवेशन आह्वान माग गरेको छ ।