सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक

धनगढी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ । टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले शनिबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरे ।

राष्ट्रिय टोलीका सदस्य समेत रहेका मल्लको कप्तानीमा रहेको सुदूरको टोलीलाई यसै सिजन देखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको थियो । एसपीए कलेजले यसै सिजनदेखि ३ वर्षका लागि प्रदेशको महिला र पुरुष दुवै टोलीको मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउँने लक्ष्यसहित अघि बढ्नुपर्ने धारणा राखे ।

साथै शाहीले प्रदेशको टोलीलाई व्यवसायिक रुपमा अघि बढाउन आफूहरुले गरेको सुरुवातलाई अन्य कर्पोरेट संस्थाहरुसँग पनि जोड्ने प्रयत्न भइरहेको बताए । प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले एसपीए कलेजको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै एपीएको विश्वासलाई मैदानमा राम्रो खेल्दै प्रमाणित गर्ने प्रतिबद्धता जनाए ।

अनुभवी र युवा खेलाडीहरु सहित टोली सन्तुलित रहेका बताउँदै शीर्ष चारमा रहने लक्ष्यसहित टोली काठमाडौं जान लागेको कप्तान मल्लले बताए । उनले एसपीए कलेजको सहयोगले टोलीको मानसिक अवस्था पनि सुदृढ भएको बताए ।

टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी समावेश छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.