डडेल्धुरा : डडेल्धुरा मेडिकल कलेजले आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पु¥याएको छ ।
सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्र अस्पताल डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालले तीन सय शैय्याको अस्पतालका रुपमा स्वीकृति पाउने बितिक्कै एमविविएस कक्षा सञ्चालनका लागि अनुमति प्राप्त हुने सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय अन्तर्गत डीनको कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुरा मेडिकल कलेजमा हाल ब्याचुलर्स इन मेडिकल ल्याब टेक्नोलोजी (बीएमएलटी), बीएससी नर्सिङ र ब्याचुलर्स इन पव्लीक हेल्थ (बीपीएच) कक्षा सञ्चालन भई ७६ जना विद्यार्थीहरु अध्ययनरत छन् । तीनबर्षदेखि बीएमएलटी कक्षा सञ्चालन भएको हो भने गत शैक्षिक सत्रदेखि बीएससी नर्सिङ र बीपीएचको पढाई भइरहेको छ । ‘एमबीबीएस कक्षा सञ्चालन गर्न डडेल्धुरा अस्पतालको स्तरोन्नती हुन आबश्यक छ,’ सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका डीन डा. हेमनाथ जोशीले भने,‘ हाल एक सय सै्य्या क्षमताको डडेल्धुरा अस्पतालको स्तरोन्नती भएर तीन सय सैय्या क्षमताको भएपछि एमबीबीएस कक्षाका लागि अनुमति प्राप्त हुन्छ ।’
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले डडेल्धुरा अस्पतालको स्तरोन्नतीका लागि सबै प्रकृया पुरा गरेर स्वास्थ्य सेवा विभागमा कागजपत्र पठाई सकिएको जानकारी दिए । उनले विभागबाट केही अपुग कागजात माग गरिएको र अस्पतालबाट थप कागजातसमेत पठाइएको बताए । सबै कागजात विभागले स्वास्थ्य मन्त्रालयमा पेश गरिसकेको जानकारी दिँदै उनले मन्त्रालयबाट मन्त्रिपरिषदको बैठकमा पेश गर्ने तयारी भइरहेका बेला निर्वाचनका कारण मन्त्रिपरिषदबाट निर्णय हुन नसकेकाले नयाँ बन्ने मन्त्रिपरिषदबाट तीन सय सैय्याको अस्पतालका रुपमा स्तरोन्नती गर्ने निर्णय हुने विश्वास व्यक्त गरे ।
डडेल्धुरा अस्पतालमा एमबीबीएस कक्षा सञ्चालनका लागि साढे चार अर्बको डीपीआर तयार भइसकेको र डीपीआरअनुसार क्रमागत रुपमा भौतिक पूर्वाधार विकासका कामहरु भइरहेको डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताए । ‘भौतिक पूर्वाधार विकाससँगै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरिरहेका छौं,’ उनले भने ,‘अब चाडैं अस्पतालको स्तरोन्नती भएर तीन सय सैय्या क्षमताको अस्पतालका रुपमा सञ्चालन गरिने छ ।’
‘डडेल्धुरा मेडिकल कलेजका लागि आवश्यक डडेल्धुरा अस्पताल नजिकै रहेको थप एक सय ९१ रोपनी जग्गा उपलब्ध गराउन अमरगढी नगरपालिकाबाट निर्णय भइसकेको छ,’ डडेल्धुरा मेडिकल कलेजमा अविलम्व एमबीबीएस कक्षा सञ्चालनका लागि डडेल्धुरा अस्पतालको स्तोन्नती गर्ने कार्यमा अहोरात्र खटिनु भएका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले भने, ‘हाल काठमाडौंमै बसेर अपुग कागजात मगाउने र पेश गर्ने काम गरिहेको छु, चाडै अस्पतालको स्तरोन्नती हुने र एमबीबीएस कक्षा सञ्चालन हुने विश्वासमा छौं ।’
डडेल्धुरा मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ भने डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । थप एक सय ९१ रोपनी जग्गा उपलब्ध गराउन मन्त्रालयमा कागजात पेश भएकोमा त्यसको औचित्य माग भइआएकाले थप कागजात पेश गर्ने तयारी भइरहेको डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी अम्मरबहादुर ओलीले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका डीन डा. हेमनाथ जोशीले विश्वविद्यालयको कार्यकारी परिषदबाट निर्णय हुने बितिक्कै थप एक सय ९१ रोपनी जग्गाको भोगाधिकार डडेल्धुरा मेडिकल कलेजले प्राप्त गर्ने जानकारी दिए । डडेल्धुरा मेडिकल कलेजको डीपीआर तयार भइ छात्राबास र प्रशासनिक भवन निर्माणको काम अघि बढेको छ । चालु आर्थिक बर्षमा पाँच करोड बिनियोजन भएर कामकाज अघि बढाइएको डडेल्धुरा मेडिकल कलेजले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायअन्तर्गत डीनको कार्यालय डडेल्धुरा र डडेल्धुरा अस्पताल दुबैले नयाँ शैक्षिक सत्र शुरु हुनुपुर्व एमबीबीएस कक्षा सञ्चालनका लागि आवश्यक सबै प्रकृया पुगाइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी कोइरालाले काठमाडौंमा बसेर विभाग र मन्त्रालय धाउने काम गरिहेकोले चाडै अनुमति प्राप्त हुने जानकारी दिए ।
डडेल्धुरा सदरमुकाम प्राकृतिक रुपमा अध्ययन अध्यापन कार्यका लागि उपयुक्त स्थान भएकाले देशभरका विद्यार्थीहरुले डडेल्धुरामा बसेर एमबीबीएस अध्ययन गर्न रुचाउने गरेको बताउँदै डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझाले नयाँ शैक्षिकसत्रदेखि एमबीबीएस कक्षा सञ्चालन हुनेमा विश्वस्त रहेको जिकिर गरे । उनले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका विद्यार्थीहरुलाई छुट्टै कोटा छुट्याएर एमबीबीएस अध्ययन गराइने जानकारी दिए ।
मन्त्रिपरिषद्को २०७८ साल माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन गर्ने निर्णय गरे पनि बजेट निकासा नहुँदा हालसम्म एमबीबीएस कक्षा सञ्चालन हुन सकेको थिएन । हाल सुदूरपश्चिम विश्वविद्यालयको आधार संकायका रूपमा सञ्चालन हुने डडेल्धुरा मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएपछि रणनीतिक योजना बनाएर काम अगाडि बढाइएको हो ।