आज क्षयरोग दिवस आज : कैलाली र कञ्चनपुरमा क्षयरोगका बिरामी उच्च

धनगढी : सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा क्षयरोगका बिरामीको संख्या उच्च रहेको देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका नौ जिल्लामध्ये वर्षेनी कैलाली र कञ्चनपुरमा बढी क्षयरोगी फेला परेका छन् ।
निर्देशनालयको तथ्यांक अनुसार हरेक वर्ष प्रदेशमा क्षयरोगी बिरामी दर बढ्दै गएको छ । आर्थिक वर्ष ७७\७८ मा दुई हजार आठ सय २६ जना, आर्थिक वर्ष ७८\७९ मा तीन हजार चार सय २४ जना, आर्थिक वर्ष २०७९\८० मा तीन हजार दुई सय १४ जना, आर्थिक वर्ष २०८०\८१ मा तीन हजार छ सय १८ जना रहेकोमा आर्थिक वर्ष ८१\८२ मा तीन हजार छ सय ४८ जना बिरामी रहेको उल्लेख छ ।

प्रदेश स्वास्थ्य निर्देशनालये उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेशमा एक हजार आठ सय ४० क्षयरोगीका बिरामी रहेको उल्लेख छ । नौ जिल्लामध्ये कैलालीमा आठ सय १२ र कञ्चनपुरमा पाँच सय चार बिरामी रहेको तथ्यांकमा उल्लेख छ ।

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१\८२ को माघ मसान्तसम्ममा डोटीमा ७८ जना क्षयरोगका बिरामी रहेका छन । त्यस्तै, अछाममा ८३, बैतडीमा ८३, बझाङमा ५८, बाजुरामा ८१, डडेल्धुरामा ७२ र दार्चुलामा ६९ जना क्षयरोगका बिरामी रहेका छन ।

चालु आर्थिक वर्षमा प्रदेशका कुल बिरामी संख्यामध्ये ६५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार गत आर्थिक वर्षमा यस प्रदेशमा तीन हजार छ सय ४८ जना नयाँ क्षयरोगी फेला परेका थिए । जस अनुसार सबैभन्दा बढी एक हजार पाँच सय १३ कैलाली र सबैभन्दा कम बाजुरामा एक सय ४१ जना क्षयरोगी फेला परेका थिए ।
विश्व क्षयरोग दिवस २०८२ को अवसरमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्षयरोग नियन्त्रण र जनचेतना अभिवृद्धि गर्न विविध कार्यक्रमहरू गरिँदै छन् । “हो हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान” भन्ने मूल नारासहित यस वर्ष विश्व क्षयरोग दिवस आज चैत मनाइदै छ ।
विश्व क्षयरोग दिवसको अवसरमा धनगढीमा सोमबार सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा क्षयरोगको अवस्था, चुनौती र समाधानका उपायहरूबारे गहन छलफल भएको थियो ।

यसैगरी, आज बिहान प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिने भभएको छ । चौराहाबाट सुरु भएर प्रभातफेरी शुभश्री प्यालेसमा पुगेर समापन गरिने, त्यसपछि विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रमसमेत गरिने छ । विद्यार्थीहरूलाई क्षयरोगको लक्षण, रोकथाम र उपचारबारे जानकारी दिइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले जानकारी दिए ।

यस्तै चिकित्सकहरूसँग समेत क्षयरोगसम्बन्धी अन्तरक्रिया गरिने र यसले सरकारी र निजी क्षेत्रबीच सहकार्य सुदृढ बनाउन सहयोग पुग्ने स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक नरेन्द्र सिंह कार्कीको भनाइ छ । दिवसकै अवसरमा सञ्चारकर्मीसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ । यस्तै अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिनेसमेत निर्देशक कार्कीले जानकारी दिए ।

प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य कार्यालयमार्फत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने छन् भने ८८ वटै स्थानीय तहमा समेत दिवस मनाउन सामान्य प्रशासन मन्त्रालयबाट पत्राचार गरिएको एचआइभी एवं क्षयरोग फोकल पर्सन मनोज ओझाले बताए ।
क्षयरोग अझै पनि सार्वजनिक स्वास्थ्यका लागि चुनौतीका रूपमा रहेको भन्दै सरोकारवालाहरूले यसको अन्त्यका लागि सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताए । उनीहरूले समयमै परीक्षण, नियमित औषधि सेवन र जनचेतना अभिवृद्धि नै क्षयरोग नियन्त्रणको मुख्य उपाय भएकोमा ओझाले जोड दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.