अत्तरिया : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले सोमबार परम्परागत रूपमा ‘चैतकी चराँई’ पर्व हर्षोल्लासका साथ मनाएको छ । समुदायको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको यो पर्व धार्मिक आस्था, सामाजिक एकता र जनस्वास्थ्यको कामनासँग सम्बन्धित रहेको छ ।
चैतकी चराँईको अवसरमा घर–घरमा अन्दीको भात, मिसौला, माछा, आलु लगायतका परिकार पकाइन्छन् । तयार पारिएका यी पकवानहरूलाई गुरुवामार्फत ७ भवानी र उनका भाइ लंगुणाको विधिपूर्वक पूजा गर्ने चलन रहेको छ । यस पर्वलाई गाउँ–नगरमा रोगव्याधि नफैलियोस्, सबैको रक्षा होस् भन्ने कामनासहित मनाइने गरिएको विश्वास छ ।
स्थानीय गुरुवा सियाराम रानाका अनुसार चैत र वैशाख महिनामा गरी दुई पटक चराँई मनाउने परम्परा रहे पनि केही स्थानमा ‘भजनी चराँई’ का रूपमा चिनिने तेस्रो चराँई पनि विशेष रूपमा मनाइन्छ ।
त्यस्तै, जमिन्दार रामपति रानाले चैतकी चराँईसँगै होली पर्वको औपचारिक बिदाइसमेत गरिने जानकारी दिए । उनका अनुसार यो पर्वले पुराना संस्कारलाई निरन्तरता दिनुका साथै समुदायबीच एकता र सद्भाव पनि बढाउने काम गर्दछ ।
परम्परा, प्रकृति र सामाजिक स्वास्थ्यको सन्देश बोकेको ‘चैतकी चराँई’ सोमबार पनि रानाथारु समुदायको जीवनशैलीको अभिन्न अंगका रूपमा जीवित रहेको छ ।