अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ स्याउले मा अस्थायी ट्राफिक प्रहरी पोस्टको उद्घाटन सोमबार गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम बहादुर राना ले भवनको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा एसएसपी पदम बहादुर विष्ट, एसपी प्रेम बहादुर शाही लगायत विभिन्न सुरक्षा निकायका प्रमुख, प्रतिनिधि र स्थानीयहरूको उपस्थिति रहेको थियो।
स्याउले पोस्टका इन्चार्ज प्रहरी हवल्दार विर बहादुर विष्ट को पहलमा र स्थानीय सहयोगमा निर्माण भएको दुई कोठे भवनमा करिब ८ लाख ८१ हजार रुपैयाँको लागत आएको छ। सुर्योदय सामुदायिक वन क्षेत्रमा निर्माण भएको भवनमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ।
यसअघि करिब सात महिनादेखी प्रहरी कर्मचारीहरूले भवन अभावमा वनले बाख्रा थुन्न निर्माण गरेको कटेरोमा बसेर सेवा प्रदान गर्दै आएका थिए। भवन निर्माणले स्थानीय ट्राफिक व्यवस्थापनमा स्थायित्व र सहजता ल्याउने विश्वास गरिएको छ।