धनगढी । बर्दियामा प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ । लागु औषध कारोबारविरुद्ध प्रदर्शन गर्दै स्थानीयले अवरुद्ध पारेको नेपालगन्ज–गुलरिया सडक खण्ड खुलाउन पुगेको प्रहरी र स्थानीयबिच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो ।
गुलरिया नगरपालिका–११, गणेशपुरमा भएको सो झडपमा केही स्थानीय र १० जना सुरक्षाकर्मी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको हो । झडपमा नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका तीन जना गरी १० जना घाइते भएका छन् । घाइतेमध्ये प्रहरी सहायक हवलदार सन्तोष विकको अवस्था गम्भीर छ । उनको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ ।
लागु औषधको ओभरडोज का कारण स्थानीय दुई युवकको मृत्यु भएपछि आक्रोशित स्थानीयले सीमा नाका बन्द गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका थिए । मृतक गुलरिया–११ का सुरेश खटिक र बोहरन खटिक रहेको स्थानीयले बताएका छन् । प्रहरी नायब उपरीक्षक विष्टले युवाको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुने जानकारी दिए ।
केही दिनयता भारतबाट भित्रिएको ब्राउन सुगर र कोरेक्सलगायतका लागु औषध सेवनका कारण एउटै परिवारका दुई जनाको ज्यान गएपछि स्थानीय आन्दोलित भएका हुन् । भारतीय सीमावर्ती बजारमा अवैध लागु औषध निर्बाध रूपमा बिक्री भइरहेको र नेपाली त्यहाँ गएर सेवन गर्ने क्रम बढेकाले नाका पूर्णरूपमा बन्द गर्नुपर्ने उनीहरूको माग छ । गुलरिया–११ का पूर्ववडाध्यक्ष रामनारायणप्रसाद केशरीले सीमावर्ती भारतीय बजार लौकाही लागु औषधको हब बन्दै गएकाले सो नाका बन्द गरी कारोबारीमाथि कारबाही हुनुपर्ने बताए ।