बझाङको बित्थडचिर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको वडा नम्बर–९ स्थित बागथला धारी डोबा सडकमा सिँचाइ क्यानल तथा ह्युम पाइप कल्भर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार निर्माण कार्यका क्रममा फिल्डमा काम नभएको तथा कम काम भएको अवस्थामा पनि बढी काम भएको देखाई झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिने र लिने कार्य गरी भ्रष्टाचार गरिएको हो । यसरी सरकारी रकम गैरकानुनी रूपमा लाभ वा हानि पुर्‍याउने उद्देश्यले भुक्तानी दिएको आयोगको दाबी छ ।

प्रतिवादी बनाइएकामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टसहित अन्य कर्मचारी र निर्माणसँग सम्बन्धित पाँच जना रहेका छन् । उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) एवं सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ ।

आयोगले उनीबाट आठ लाख ४८ हजार ९६२ रुपियाँ २२ पैसा बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ । साथै उक्त बिगोसमेत असुल उपर गर्न माग गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.