सेती प्रादेशिक अस्पतालले नर्स र अनमीको परीक्षा अगावै प्रश्नपत्र आउट गरेको खुलासा

धनगढी । सेती प्रादेशिक अस्पताल मा सञ्चालन गरिएको स्टाफ नर्स र अनमी पदको लिखित परीक्षा विवादमा परेको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको विषय सार्वजनिक भएको छ ।

अस्पतालले चैत ७ गते शनिबार स्टाफ नर्स (बिहान ९ बजे) र अनमी (दिउँसो ३ बजे) का लागि परीक्षा सञ्चालन गरेको थियो। तर, स्रोतका अनुसार विशेषगरी अनमीतर्फको प्रश्नपत्र टिकमार्कसहित परीक्षा सुरु हुनुअघि नै बाहिरिएको दाबी गरिएको छ। ‘३ बजे परीक्षा थियो, तर त्यसअघि नै प्रश्नपत्र बाहिरिएको देखिन्छ,’ स्रोतले जनाएको छ।

यता, परीक्षा सञ्चालन समितिका संयोजक तथा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेसँग सम्पर्क हुन सकेको छैन। उनी बिरामी भएको जनाउँदै जिम्मेवारी डा. खगेन्द्र भट्टलाई दिइएको बताइएको छ। भट्टले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

यसैबीच, परीक्षा सञ्चालन समितिका सदस्य तथा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले भने प्रश्नपत्र लिक भएको आरोपलाई ठाडै अस्वीकार गरेका छन्। उनका अनुसार परीक्षा “पूर्ण रूपमा निष्पक्ष” रूपमा सञ्चालन गरिएको हो। ‘यो लोकसेवा आयोगको परीक्षा जत्तिकै कडाइका साथ गरिएको हो, प्रश्नपत्र बाहिरिएको भन्ने कुरा निराधार हल्ला मात्रै हो,’ उनले बताए।

अस्पतालले २१ जना स्टाफ नर्स पदका लागि परीक्षा लिएकोमा ३९ जना लिखितमा उत्तीर्ण भएका छन्। उनीहरूको अन्तर्वार्ता चैत १२ गतेदेखि सुरु हुने तय गरिएको छ। यस्तै, १८ सिट अनमीका लागि लिइएको परीक्षामा २८ जना उत्तीर्ण भएका छन्, जसको अन्तर्वार्ता चैत १८ गते बिहान १० बजेदेखि हुने जनाएको छ।

परीक्षा प्रक्रियामाथि उठेको गम्भीर प्रश्नबीच यथार्थ के हो भन्ने विषयमा स्पष्ट छानबिनको माग भने बढ्दो छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.