अत्तरिया : सुदूरपश्चिम प्रदेशमा पछिल्लो दशकमा कुखुरापालन व्यवसाय उल्लेखनीय रूपमा विस्तार भएको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको व्यावसायिक कुखुरापालनसम्बन्धी गरिएको सर्वेक्षणअनुसार यस प्रदेशमा कुखुरा फार्मको सङ्ख्या १० वर्षको अवधिमा ६१.८ प्रतिशतले वृद्धि भएको छ ।
२०७२ सालमा एक हजार ११३ फार्म रहेकोमा २०८२ सालसम्म आइपुग्दा यो सङ्ख्या एक हजार आठ सय एक पुगेको छ । यसले करिब ६८८ नयाँ फार्म थपिएको देखाएको छ । जसले यस क्षेत्रमा कुखुरापालन व्यवसाय तीव्र गतिमा अघि बढिरहेको देखाउँछ । सर्वेक्षणअनुसार एक हजार चार सय ६७ फार्म सरकारी निकायमा दर्ता भएका छन् भने तीन सय ३४ फार्म सरकारी निकायमा दर्ता नभई सञ्चालनमा रहेका छन् ।
प्रदेशमा पाँचदेखि १४ वर्षदेखि सञ्चालित फार्महरूको सङ्ख्या बढी रहेको छ । तथ्यांकअनुसार यहाँ नौ सय १२ रहेका छन् भने पाँच वर्षभन्दा कम वर्षमा सञ्चालन रहेका सात सय ८०, पाँच वर्षभन्दा कम वर्षमा सञ्चालन रहेका छन् । १५ देखि ३४ वर्षसम्म सञ्चालनमा रहेका फार्म एक सय आठ रहेका छन् । सर्वेक्षणअनुसार प्रदेशमा व्यक्तिगत एक हजार सात सय ५७, साझेदारी २४ र प्राइभेट तथा पब्लिक लिमिटेडमा १८ वटा फार्म तथा अन्यमा दुई सञ्चालनमा रहेको उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशमा महिलाले सञ्चालन गरिरहेको फार्म मधेश प्रदेशको तुलनामा बढी भए पनि अन्य प्रदेशको तुलनामा न्यून रहेको छ । यस प्रदेशमा महिलाले सञ्चालन गरेको कुखुरापालन फार्म दुई सय ८९ ९१६.२ प्रतिशत रहेको छ । यहाँ पुरुषले सञ्चालन गरेको फार्मको सङ्ख्या एक हजार चार सय ९१ रहेको छ ।
उमेर अनुसार हेर्दा यहाँ ३५ देखि ४४ वर्ष उमेर समूहका सञ्चालकको सङ्ख्या बढी रहेको छ । यहाँ यो उमेर समूहका सञ्चालन सात सय नौ जना रहेको छ । जेनजी उमेर समूह अर्थात् २५ वर्षभन्दा मुनिका सञ्चालक ४३ जना रहेका छन् । २५ देखि ३४ उमेर समूहका पाँच सय पाँच जना रहेका छन् । ४५ देखि ५४ उमेर समूहका सञ्चालक तीन सय ८६ जना रहेका छन् । ५५ देखि ६४ उमेर समुहका एक सय १० रहेको छ भने ६५ भन्दा माथिका २७ जना रहेका छन् ।
शैक्षिक योग्यताअनुसार यस प्रदेशमा माध्यामिक तह प्राप्त गरेका सञ्चालकहरूको सङ्ख्या बढी रहेको छ । सर्वेक्षणअनुसार माध्यामिक तह प्राप्त सञ्चालकको सङ्ख्या आठ सय ९४ अर्थात ९५.२ प्रतिशत रहेको छ । यहाँ निरक्षर व्यवसायीको सङ्ख्या २० अर्थात् एक दशमलब एक प्रतिशत रहेको छ । उच्च स्नातक तह र सोभन्दा माथि दुई सय १५ सञ्चालक रहेका छन् ।
यस प्रदेशमा अण्डा र चल्ला उत्पादनका लागि भन्दा बढी मासु उत्पादनमा फार्म सञ्चालकहरूको प्राथमिकता देखिन्छ । यहाँ कूल सञ्चालकमध्ये एक हजार सात सय ४३ जनाले मासु उत्पादन गर्ने व्यवसायीको सङ्ख्या रहेको छ । अण्डा उत्पादन गर्ने ५४ र चल्ला उत्पादन गर्ने व्यवसायीको सङ्ख्या चार रहेको छ । कुखुरापालन व्यवसायीहरूले रोजगारी सिर्जनामा पनि योग्दान गरेको देखिन्छ ।
यस प्रदेशमा कुखुरापालन व्यवसायी सञ्चालकले चार हजार नौ सय ३३ जनालाई रोजगारी दिएको देखिन्छ । जसमा महिला दुई हजार एक सय ५३ र पुरुष दुई हजार सात सय ७९ रहेको छ । यहाँ अण्डा उत्पादनमा जोड दिने लेयर्सभन्दा बढी बोइलर कुखुराको सङ्ख्या अत्याधिक रहेको छ । गणनाअवधिमा यहाँ १६ लाख आठ हजार एक सय ६२ बोइलर, दुई लाख ७९ हजार तीन सय ४१ लेयर्स, ८२ हजार नौ सय १५ कोइलर तथा गिरिराज, ३८ हजार आठ सय प्यारेण्ट तथा ग्रेण्ड प्यारेण्ट र २७ हजार एक सय २५ अन्य गरि २० लाख ३६ हजार तीन सय ४३ कूल कुखुरा फार्ममा रहेका थिए ।
सन्दर्भ वर्षमा यहाँ कुखुरापालनमा मध्यम स्तरको उत्पादन देखिन्छ । सन्दर्भ एक वर्षमा यहाँ ६९ लाख ३७ हजार दुई सय १३ बोइलर, तीन लाख ७२ हजार सात सय ७३ लेयर्स, दुई लाख ९८ हजार दुई सय १९ कोइलर तथा गिरिराज, एक लाख छ सय प्यारेण्ट तथा ग्रेण्ड प्यारेण्ट र १० हजार छ सय ८५ अन्य गरि ७७ लाख १९ हजार चार सय ८९ कूल कुखुरा पालिएका सङ्ख्या रहेको छ ।
बोइलर, कोइलर तथा गिरिराज र अन्य मासुका लागि उपयुक्त बजार ओगटेको देखिन्छ भने लेयर्स, कोइलर तथा गिरिराजले अण्डा तथा प्यारेन्ट बोइलर र प्यारेन्ट लेयर्सले ह्याचरीमा उपयुक्त मानिन्छ । सन्दर्भ एक वर्षमा सुदूरपश्चिम प्रदेशमा कोइलर तथा गिरिराजबाट सञ्चालकले राम्रो आम्दानी गरेको पाइएको छ । सर्वेक्षणअनुसार पाँच लाख ११ हजार चार सय ५५ किलोग्राम कोइलर तथा गिरिराजबाट ३४ करोड १२ लाख आम्दानी भएको देखिन्छ ।
एक करोड ५२ लाख ९२ हजार छ सय १८ किलोग्राम बोइलरबाट तीन अर्व ६० करोड २१ लाख, तीन लाख सात हजार चार सय ५१ किलोग्राम लेयर्स तथा प्यारेन्टबाट पाँच करोड ५४ लाख रकम आम्दानी भएको छ भने १३ हजार पाँच सय ६ किलोग्राम अन्यबाट एक करोड आठ लाख रकम गरि चार अर्ब ८८ लाख आम्दानी भएको उल्लेख छ ।
सुदूरपश्चिममा कुखुरापालन व्यवसायमा वृद्धि भएको देखिए पनि बीमादर भने सबैभन्दा न्यून रहेको छ । सन्दर्भ वर्षमा देशभरका करिब ४।१ प्रतिशत मात्र कुखुरापालन फार्म बीमित रहेकोमा सुदूरपश्चिममा बीमादर २.७ प्रतिशत रहेको छ । यस सन्दर्भमा व्यवसायलाई यथावत् सञ्चालन गर्ने कूल सञ्चालकमध्ये ३५ दशमलव आठ प्रतिशत रहेको छ भने ५६ दशमलव पाँच प्रतिशतले क्षमता वृद्धि गर्ने बताएका छन् भने तीन दशमलव एक प्रतिशतले क्षमता कम गर्ने र चार दशमलव छ प्रतिशतले व्यवसाय बन्द गर्ने बताएको सर्वेक्षणमा उल्लेख छ ।
व्यवसाय बन्द गर्नुको प्रमुख कारण बजार अभाव रहेको देखिन्छ । सर्वेक्षणअनुसार ३९ दशमलव एक प्रतिशत व्यवसायीहरूले बजार अभावका कारण बन्द गर्ने तयारी, ३२ दशमलव चार प्रतिशतले पूँजी अभाव, पाँच दशमलव ९ प्रतिशतले चल्लाको गुणस्तरमा कमी, सात दशमलव तीन प्रतिशतले कामदारको अभाव, एक दशमलव चार प्रतिशतले व्यवस्थापनमा समस्या र ९ दशमलव सात प्रतिशतले अन्य कारण देखाउँदै बन्द गर्ने मनसाय बनाएको उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशमा कुखुरापालन व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ । यसले रोजगारी सिर्जना, आम्दानी वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको सर्वेक्षणले देखाउँछ । तर बजार पहुँच, बीमा, पूँजी र प्राविधिक ज्ञानजस्ता चुनौतीहरू समाधान नगरेसम्म यो क्षेत्र दिगो रूपमा अघि बढ्न सक्दैन ।
सरकार, निजी क्षेत्र र किसानबीच सहकार्य गरी बजार व्यवस्थापन, वित्तीय पहुँच विस्तार, प्राविधिक तालिम तथा बीमा प्रणाली सुदृढ गर्न सके कुखुरापालन व्यवसाय अझ सशक्त र प्रतिस्पर्धी बन्ने सर्वेक्षणले देखाएको छ ।