सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने तत्कालीन तीन अध्यक्षसहित १११ जनाविरुद्ध मुद्दा दायर

कञ्चनपुर : तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा व्यक्तिको नाम दर्ता गराउने तीन जना तत्कालीन अध्यक्षसहित १११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध फरक(फरक तीन वटा मुद्दा दायर गरेको हो।

तत्कालीन अध्यक्ष पल्टु राना, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २५ जनाविरुद्ध एउटा मुद्दा दायर भएको छ। त्यस्तै तत्कालीन अध्यक्ष कान्तुराम पनेरु, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २२ जनाविरुद्ध अर्को मुद्दा हालिएको छ।

तत्कालीन अध्यक्ष गोपाल रसाइली, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत ६४ जनाविरुद्ध तेस्रो मुद्दा दायर भएको छ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको आरोप उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ। तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने विधि र प्रक्रिया विपरीत तीन अध्यक्षहरुको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता गरेको अनुसन्धानमा पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.