सुदूरपश्चिमका नवनिर्वाचित जनप्रतिनिधिलाई २५ र २६ गते अभिमूखीकरण
अत्तरिया : संघीय सरकारले सुदूरपश्चिमका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण तालिम दिने भएको छ । गत ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका सुदूरपश्चिमका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई दिने अभिमूखीकरण दिन लागेको हो ।
मन्त्रालयका सहसचिव डा। गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने छ । उनका अनुसार सुदूरपश्चिम र प्रदेश १ मा २५–२६ जेठमा अभिमूखीकरण दिइने छ भने मधेश, गण्डकी र कर्णालीमा २७–२८ जेठको मिति तय भएको छ ।
बागमती र लुम्बिनीमा ३०–३१ जेठमा अभिमूखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।