कैलालीमा एमालेसंगको सहमती छोडेर कांग्रेसतर्फ मोडियो माओवादी

अत्तरिया : कैलाली जिल्ला समन्वय समिति गठनका लागि बिहीबार नागरिक उन्मुक्ति पार्टी, नेकपा एमले र नेकपा माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भए पनि माओवादी केन्द्रले तीन दिनमै सो सहमति तोडेर नेपाली कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेको छ ।

तीन दिनअघि जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुखसहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले पाउने गरी समन्वय समितिमा तालमेल गर्ने तीनदलीय लिखित सहमति भएको थियो । सो सहमतिपत्रमा नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज हरि ज्ञवाली (अखण्ड) र सुरेन्द्र देवकर, नेकपा एमालेका जिल्ला उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डेय, उपसचिव लोकेन्द्र शाही र ममता चौधरी तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट केन्द्रीय सदस्य दामोदर पण्डित, रमेश विक र लालवीर चौधरीले हस्ताक्षर समेत गरेका थिए ।

तर, सहमति भएको तीन दिन नबित्दै माओवादी केन्द्रले जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको छ । ‘केन्द्रीय तालमेलको निर्णयअनुसार हामीले कांग्रेससँग तालमेल गर्ने निर्णय गरेका छौँ,’ नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी ९उत्सव०ले भने, ‘एमालेसहितका दलसँग सामान्य छलफल मात्रै भएको हो, मूलतः हामी केन्द्रीय मर्मअनुसार नै अघि बढ्नेछौँ ।’ जिल्ला समन्वय समितिमा तालमेल गर्नेगरी नेपाली कांग्रेससँग सहमति भइसकेको र सत्ता घटककै अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल भइरहेको उनले बताए ।

नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले समन्वय प्रमुख प्रमुख कांग्रेस र उपप्रमुख सहित ३ सदस्य माओवादी केन्द्रले पाउने गरी सहमति भएको बताए । उनले एकीकृत समाजवादी पार्टीसँग भने छलफल भइरहेको बताए । ‘माओवादी केन्द्र र नेपाली कांग्रेसबीच लगभग सहमति भइसकेको छ,’ सभापति भट्टले भने, ‘एकीकृत समाजवादी पार्टीसँग थप छलफल गरेर हामी टुंगोमा पुग्नेछौं ।’

बिहीबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको थियो । कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख र उपप्रमुख छन्, जुन संख्या जिल्ला समन्वय समिति गठन गर्न आवश्यक पर्ने बहुमतभन्दा बढी हो । १३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ जना एक ठाउँमा उभिनुपर्ने हुन्छ ।

माओवादी केन्द्र नेपाली कांग्रेससँग मिलेपछि गठबन्धनसँग १३ मत पुगेको छ । तर, समन्वय समिति गठन गर्न भने १४ मत आवश्यक पर्नेछ । कैलालीमा नेपाली कांग्रेससँग ८, माओवादी केन्द्रसँग ४ र नेकपा एकीकृत समाजवादी पार्टीसँग एक मत छ । उनीहरूलाई जितका लागि स्वतन्त्र उम्मेदवारको आवश्यकता पर्ने देखिएको छ । अल्पमतमा परेका नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीलाई भने स्वतन्त्र उम्मेदवारको समर्थन पाउँदा समेत बहुमत पुग्ने अवस्था देखिँदैन । कैलालीमा नागरिक उन्मुक्ति पार्टीसँग ७ र नेकपा एमालेसँग ५ मत रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.