डोटी : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्या–पर्यटकीयस्थल खप्तडमा तीन वर्षपछि गंगा–दशहरा मेला लागेको छ । इतिहासमा कहिल्यै नरोकिएको यो मेला कोभिड १९ को प्रभावले दुई वर्ष ठप्प भएको थियो । मेला रोकिए पनि सीमित सरोकारवालाहरूको उपस्थितिमा नियमित पूजाआजा भने निरन्तर थियो ।
यसवर्ष जनजीवन सामान्य अवस्थामा पुगेपछि खप्तडमा यो मेला सुरु भएको हो । यसवर्ष परम्पराअनुसार नै मेला हुनेछ । खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीमा ‘गंगा–दशहरा’ मेला लाग्ने परम्परा छ । सोही परम्पराअनुसार मंगलबार नवमीदेखि नै खप्तडमा दर्शनार्थीहरूले मेला भर्न सुरु गरेका छन् ।
परापूर्व कालदेखि यहाँ बाजुरा, अछाम, बझाङ र डोटीका बासिन्दाले मेला भर्दै आएका छन् । पछिल्लो समय प्रचारप्रसार व्यापक बनेसँगै यहाँ समग्र सुदूरपश्चिम प्रदेश र देशभरका हिन्दू धर्मावलम्बीहरूको आकर्षण बढेको छ । यसकारण खप्तड गंगा–दशहरा मेलालाई पछिल्लो समय देशकै ठूलोमध्ये एक धार्मिक मेलाका रुपमा लिन थालिएको छ ।
प्राकृतिक रुपले निकै सुन्दर र मनमोहक खप्तड धार्मिक हिसाबले महत्वपूर्ण तीर्थस्थल हो । मध्य पहाडी क्षेत्रको निकै उचाइमा रहेको खप्तडमा देवदेवीहरूको बास रहँदै आएको जानकारहरूको दाबी छ ।
समुन्द्र सतहदेखि करिब तीन हजार दुई सय मिटरमाथि तीनवटा नदीको संगम बनेको त्रिवेणी छ । सहश्रलिङ्गबाट बगेर आउने सोलिङ खोला (गंगा), डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला (यमुना) र प्राचीन धर्मशाला मुन्तिरबाट गुप्त बगेर आउने सरस्वती नदीको संगम छ ।
यही त्रिवेणीधाममा मनकामना मन्दिर छ । जसमा गणेश, अन्नपूर्ण, शिवशंकर र वसाहका मूर्ति छन् । स्कन्द पुराणको मानसखण्डमा पाण्डवहरुले कुरुक्षेत्रमा मारिएका आफ्ना सम्पूर्ण मृतात्माको शान्तिका लागि यही ठाउँमा तर्पण गरेको उल्लेख छ । सोहीअनुसार यस क्षेत्रका बासिन्दा यहाँ आफ्ना पितृको तर्पण गर्दछन् ।

यसरी तर्पणको सबैभन्दा पवित्र समयका रुपमा गंगा–दशहरा मेलालाई लिइन्छ । यो समयमा नवमीमा मेला भरेर रातभर जाग्राम बस्दै शीत खाएर दशमीको दिन त्रिवेणीमा स्नान गरेर पितृको तर्पणपछि त्रिवेणीधामको दर्शन गर्दा ठूलो पुण्य पाइने र पितृहरुको वैकुण्ठबास हुने मान्यता छ । यसैकारण खप्तड त्रिवेणीमा परापूर्वकालदेखि नै गंगा–दशहरा मेला लाग्दै आएको खप्तड मध्यवर्ती क्षेत्रमा पर्ने डोटीको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय बताउँछन् ।
कोरोनाले २ वर्ष रोकिएको खप्तड गंगा–दशहरा मेला यस वर्ष सुरु भएपछि धार्मिक आस्था बोक्नेहरू उत्साहित भएका छन् । ‘आस्थाका हिसाबले हरेक वर्ष खप्तड भ्रमण गर्नेहरूका लागि दुईवर्ष हुन नसकेको मेला तेस्रो वर्ष हुने भएपछि निश्चय नै उत्साहजनक हुने भयो’, डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्का भन्छन् । उनले विगतभन्दा यसवर्ष खप्तडमा उल्लेख्य भीड लागिरहेको जानकारी दिए । ‘स्थानीयको भीडभाड त थामिनसक्नु नै भइसक्यो । देशको आन्तरिक र बाह्य क्षेत्रका पर्यटकको आगमन पनि यसपटक बढी छ’, उनले थपे ।
