छाङरुमा भारतद्वारा अतिक्रमित कालापानीलाई ३ नेताको सालिक

दार्चुला : भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीको मुद्दा पहिलोपटक उठाउने दार्चुलाका तीन जना दिवंगत नेताको सालिक बनाइएको छ ।
व्याँस गाउँपालिका–१, छाङरुको घाघाबगरमा पूर्ववन सहायकमन्त्री बहादुरसिंह ऐतवाल, पूर्वशिक्षा राज्यमन्त्री प्रेमसिंह धामी र संविधानसभा सदस्य गोपाल बोहराको सालिक निर्माण गरिएको व्याँस गाउँपालिकाको कार्यालयले जनाएको छ ।

‘कालापानीलाई राष्ट्रिय मुद्दा बनाउन योगदान गरेका योद्धाहरूको सम्मान र स्मरणमा पालिकाले सालिक निर्माण गरेको हो’, अध्यक्ष मंगलसिंह धामीले भने, ‘यसले इतिहास जीवन्त राख्ने छ ।’ कालापानीमा रहेको भारतीय अतिक्रमणको विषय पञ्चायतकालमा पहिलोपटक तत्कालीन वन सहायक मन्त्री बहादुरसिंह ऐतवालले उठाएका थिए ।

प्रजातन्त्र पुनःस्थापनापछि त्यही विषयलाई प्रेमसिंह धामीले संसदमा उठाएर राष्ट्रिय चासोको विषय बनाएका थिए । ऐतवाल र बोहरा कालापानीमुनीकोे छाङरुका बासिन्दा समेत थिए। यस्तै तत्कालीन संविधानसभा सदस्य गोपाल बोहराले तथ्यसहित पुस्तक र आलेखमार्फत कालापानीको मुद्दा उठान गरेका थिए । छाङरुमा तयार यी तीनै नेताको सालिक अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने गाउँपालिकाले तयारी थालेको छ । व्याँस गाउँपालिकाअन्तर्गत पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय सेनाको कब्जामा छ। भारतले अतिक्रमण गरेको यी भूभाग समेटेर नेपाल चुच्चे नक्सा जारी गरे पनि अझै अतिक्रमित भूभाग फिर्ता ल्याउन सकेको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.