अत्तरिया, १९ असार : भाटभटेनी सुपरमार्केटले आफ्नो पछिल्लो स्टोर धनगढीमा सञ्चालनमा ल्याएको छ । भाटभटेनीले सुदूरपश्चिममा आफ्नो पछिल्लो स्टोर सञ्चालनमा ल्याएको हो । तर त्यहाँ भाटभटेनीले आफ्नो व्यापार व्यवसायमात्रै नभएर सुन्दर र स्वस्थ धनगढी अभियान सञ्चालन गर्दैछ ।
‘जनता सँगसँगै छौँ भन्ने अभियान हो हाम्रो’ भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन गुरुङले भने, ‘हामी जहाँ पुग्छौँ, सबैको माया पाएका छौँ, त्यसक्षेत्रका जनताको दुःखमा मल्हम लगाउने काम हाम्रो पनि हो । हामीले हाम्रो दायित्व भुल्नुहुँदैन । देशप्रतिको हाम्रो जिम्मेवारी कहिले पनि भुल्नुहुँदैन भनेर धनगढीमा पनि यो अभियान सञ्चालनमा ल्याएका हौं ।’
भाटभटेनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत अहिलेसम्म १४ जना चिकित्सकको अध्ययन खर्च बेहोरिसकेको छ अर्थात् भाटभटेनीले आफ्नो लगानीमा १४ जना चिकित्सक तयार पारेको छ । तीमध्ये १२ जना नेपालमा र दुई जना विदेशमा अध्ययन गरेका हुन् ।
सोही अभियानलाई अघि बढाउँदै धनगढीका जनताको स्वास्थ्यमा पहुँच सहजरुपमा पुगोस् भन्ने उद्देश्यले धनगढी उपहानगरपालिकासँगको सहकार्यमा जिल्ला अस्पतालमा पाँच वर्षसम्म दुई जना चिकित्सकको व्यवस्था भाटभटेनीले गरेको छ ।
आगामी ५ वर्षका लागि उपमहानगरपालिकाले भाटभटेनी सुपरमार्केटसँग १९ वटै वडामा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता गरिएको धनगढीका मेयर गोपाल हमालले जानकारी दिए । सम्झौताअनुसार धनगढी उपमहानगरपालिकाले दुईजना चिकित्सकको माग गरिसकेको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङबीच सम्झौता भएको हो । सम्झौता अनुसारका सर्तहरु साउन १ गतेदेखि लागू हुने उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्ण बोहराले बताए ।
स्वास्थ्यमा मात्रै नभएर सुन्दर धनगढी अभियानमा पनि भाटभटेनीको साथ रहेको छ । धनगढी विमानस्थलबाट चौडाहासम्मको ६ लेन सडकको आइल्यान्डमा हरियाली बनाउने काम भाटभटेनीको सहयोगमा भइरहेको छ । उक्त सडकमा सडकबत्ती, आइल्यान्डमा हरियालीका लागि अहिले धमाधम काम भइरहेको छ ।
त्यस्तै भाटभटेनीले सुदूरपश्चिमका स्थानीय उत्पादन आफ्ना सबै स्टोरमा बिक्री गर्ने प्रतिवद्धता पनि जनाएको छ । सुदूरपश्चिम आर्थिक सूचकांकका हिसाबले पछाडि भएकोले यहाँका गुणस्तरीय स्थानीय उत्पादन देशैभरका आफ्ना शाखाहरुमा बिक्री वितरणका लागि खरिद गर्ने विषयमा कुराकानी भएको मेयर गोपाल हमालले बताए । अध्यक्ष गुरुङले पनि गुणस्तरीय नेपाली उत्पादनलाई भाटभटेनीले सधैँ साथ दिएको जानकारी दिँदै नेपाली उत्पादनलाई स्वागत गर्ने बताए ।
सम्बन्धित पाेस्टहरु