राना थारु बस्तीमा ‘तीजको उल्लास

अत्तरिया, ४ साउन : कैलाली, कञ्चनपुरमा बसोवास गर्ने राना थारु समुदायको परम्परागत तीज पर्वको रौनक छ । राना थारु बस्तीमा डोला (पिङ) हालिएका छन् । परम्परागत पोशाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन सुरु गरेका छन् ।
राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । राना थारु समुदायमा तीजमा सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजु भाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन पुरानै रहेको छ । पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको धनगढी उपमनगरपालिका वडा नम्बर १३ का भलमन्सा मोली रानाले बताए ।
दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामना गरी यस अवसरमा तिज मनाउने गरेको उनले बताए । उनका अनुसार निरहार बसेका दिदीबहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् । गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविविहीतले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तीसँगै विर्सजन गर्ने चलन रहेको छ । रानाथारुको तीजको विशेष दिन यस बर्ष साउन १५ गते परेको छ ।
तीजलाई विर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी बरदान माग्ने गर्दछन् । जति टाढा घाँस बगेर जान्छ त्यति बढीनै दाजुभाइको आयु बढ्ने विश्वास यस सामुदायमा रहेको छ । माइतीलाई भेटन नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन् ।
यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् ।
दाजुभाइले तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । परम्परागत राना थारु समुदायका महिलाले मनाउने यो पर्व साउन महिनाभरि मनाइने गरिन्छ । संस्कृति बचाउनुपर्छ भन्ने भावना हाल राना थारु समुदायका युवा पिँढीमा रहेकाले यस पर्वलाई जीवित राख्नका लागि प्रत्येक वर्ष गाउँमा सावनको डोला राख्ने कार्य गर्दै आएका छन् । गाउँका दिदीबहिनीले समेत यस कार्यमा साथ दिँदै आएका छन् । राना थारु बस्तीमा डोला (पिङ) हालिएका छन् ।
राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ । एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् ।
अन्य समुदायजस्तै रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा धनी छन् रानाथारू । हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता छ । तर, राना थारूले समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ । राम्रो बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाइन्छ राना थारु समुदायमा मनाइने गरेको शिक्षक समेत रहेका स्थानीय सन्तराम रानाले बताए ।
‘संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ’ उनले भने । ‘कृष्णपक्षको श्रावण तृतीयालाई तिजको मुख्य दिन मानिन्छ । यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ ।
‘विसर्जन गर्ने वेला दिदीबहिनीले दाजुभाइका लागि धन सम्पत्ति, उन्नति र दीर्घायुको कामना गर्छन्,’ धनगढी–१३ कलावती रानाले भनिन, ‘दाजुभाइको आयु नदीजस्तै लामो होस् भन्ने कामना गरिन्छ ।’ व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन् ।
रानाथारू संस्कृतिमा स्नातकोत्तर तहको शोध गरेकी जीवनका अनुसार परापूर्वकालमा बेहमैयाले तिजको व्रत बसेको र त्यहीँबाट यसको सुरुवात भएको विश्वास छ । बेहमैयाले गडरौदा जातको घाँस गाँठो पारी आफ्ना भाइभतिजाको नाम लिएर बगाउँदा बग्यो, तर त्यत्तिकै बगाउँदा बगेन । नबगेपछि बेहमैया रुन थालिन्, जुन शिव–पार्वतीले देखे । र, उनलाई रुनुको कारण सोधे । शिव–पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको किंवदन्ती छ ।
कैलाली र कञ्चनपुरमा मात्र यो समुदायको मुख्य बसोवास छ । सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । नेपाल रानाथारू समाजका अनुसार यो समुदायको जनसंख्या करिब साढे तीन लाख छ । दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोवास छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.