अत्तरिया : कैलाली–४ सुदूरपश्चिमकै सबै भन्दा बढी चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमा पर्छ यहाँ दुई जना ‘हेभीवेट’ वाला नेताहरु चुनावी मैदानमा भएको हुँदा पनि चासोका साथ हेरिएको हो ।
यस निर्वाचन क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धन र नेकपा एमाले २ ‘हेभीवेट’ नेताहरूबीच चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ एमालेका सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर चुनावी मैदानमा आमने–सामने छन् । दुवै पार्टीमा बलिया उम्मेदवारका रुपमा चिनिन्छन् । उनीहरू दुवैबीचको चुनावी प्रतिस्पर्धालाई लिएर विभिन्न चर्चा चलेका छ । कैलाली क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक हुने आँकलन पनि गरिएको छ । नेता द्वय आफ्नो पक्षमा मत तान्नका लागि अनेक रणनीतिमा रहेका छन् ।
भट्ट र बलायरको पुख्र्याैली घर डोटी हो । दुवैका मतादाताहरु उहि रहेको विष्लेसण हुन थालेको छ । कतिपय एमालेमा नेता भीम रावलले टिकट नदिँदा त्यो प्रभाव कैलाली–४ मा पर्ने पनि भन्न थालेका छन् । काँग्रेस भित्र राम्रो छवि बनाएका नेता बलायर विसं २०२२ साल भदौ ४ गते डोटी लाटामाण्डौं–६ मा मध्यमवर्गीय परिवारमा जन्मिएका हुन । बलायरले गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । परिवारिक पृष्ठभूमिपछि राजनीतिक यात्राको चर्चा गर्दा ३ वर्ष ६ महिना बन्दी जीवन बिताएका बलायर ०४६ सालको आन्दोलनताका निकै चर्चित विद्यार्थी नेता थिए ।
नेता बलायर नेपाली काँग्रेसको डोटी जिल्ला सभापति, नेपाली काँग्रेस केन्द्रीय सदस्य, २०६४ सालको संविधानसभा २०६४ को उम्मेदवार हुँदै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा डोटी (१) बाट निर्वाचित हुँदै सविधानका हस्ताक्षरकर्तासमेत हुन् ।
देउवा नेतृत्वको सरकारमा नेपाली कांग्रेसका तर्फबाट डोटी (१) बाट प्रत्यक्ष निर्वाचित सांसद भएपछि बलायरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवापत्नी आरजू देउवाका पनि विश्वास पात्र मानिन्छन् ।
यस्तै, एमालेका उम्मेदवार लेखराज भट्टको पुख्र्यौली घर डोटी नै हो । उनी विस २०३० सालबाट राजनीतिमा प्रवेश गरेका थिए । उनी तत्कालीन मोहनविक्रम सिंहको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीसँगै नेकपा (मसाल) र नेकपा (एकता केन्द्र) मा सामेल भई नेकपा–माओवादीका पूर्णकालीन सदस्य बनेका थिए। माओवादीमा उनी सुदूरपश्चिमको कमाण्डर बनेका थिए । उनी माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा ६ महिना जेल पनि परेका थिए ।
भट्ट २०६४ देखि संसदीय चुनाव लड्दै आएका छन् । उनी पूर्वमन्त्री समेत हुन् । उनले नेकपा माओवादी केन्द्रबाट पहिलोपटक २०६४ सालको संविधानसभा सदस्यको चुनाव लड्दा कांग्रेसका दीर्घराज भाटलाई करिब साढे ४ हजार मतान्तरले पराजित गरेका थिए । २०७० को चुनावमा भने कांग्रेस नेता भाटले नेता भट्टलाई पराजित गरेका थिए । २०७४ सालमा भट्टले काँग्रेसका सुनिल भण्डारीलाई झण्डै ११ हजार मतान्तरले जितेका थिए । त्यो वेला वामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत पाएका थिए । त्यसपछि एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाको एकता भंग भएपछि भट्ट माओवादी केन्द्रमा फर्किएनन्। उनी एमालेमै बसेका छन् । नेता द्वय संग गरिएको कुराकानी क्रमशः रहेको छ ।
तपाईको उम्मेदवारी पटक–पटक रहनाको औचित्य के हो ?
मेरो उम्मेदवारी ४ नम्बर क्षेत्र मात्रै होइन, समग्र सुदूरपश्चिमको विकास र अधिकारका लागि हो । सदियौंदेखि जो अधिकारबाट वञ्चित छन् । उहाँहरूको अधिकारका लागि । जुन २०७२ सालको संविधानले आम नेपाली जनतालाई अधिकारले सम्पन्न गरेको छ । त्यो अधिकारलाई व्यवहारमा लैजानका लागि त्यसको स्प्रिटलाई बुझ्ने नेतृत्वको आवश्यक पर्दछ ।
यस्तै, अहिले राष्ट्रियताका लागि नेकपा एमाले आवश्यक छ । राष्ट्रभन्दा ठूलो कोही पनि हुँदैन । राष्ट्रियता, सार्वभौमिकता र लोकतन्त्रको जगेर्ना गर्नसक्ने पार्टी भनेको एमाले नै हो । त्यसकारण एमालेलाई विजयी नगराईकन एमालेले सरकार निर्माण नगरीकन देशको पक्षधरता लिन सक्दैन । यहाँका जनताको अधिकार, यहाँको औद्योगीकरणका लागि, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका साथै मेरो उम्मेदवारी एउटा सुदृढ विचार र विकासको भिजनका लागि हो । यो क्षेत्रका नागरिकको अपेक्षा पूरा गर्न मेरो प्रयत्न हुनेछ ।
तपाईं २०६४ सालदेखि विभिन्न दलबाट संसदीय चुनावमा उम्मेदवार हुनुभयो । निर्वाचित समेत हुनुभएको छ । योपटक फेरि किन तपाईं नै उम्मेदवार के का लागि ?
विगतमा मैले थुप्रै योजना शुरु गरेको थिएँ । ती अधिकांश योजना अहिलेसम्म पूर्ण हुन सकेका छैनन् । जस्तो दोधाराचाँदनीको सुक्खा बन्दरगाह, मेडिकल कलेजलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने र यहाँ पठनपाठनदेखि लिएर उपचार सु–सम्पन्न गराउन आवश्यक छ । त्यसैगरी हरैया विशेष व्यापार क्षेत्र भनेर हामीले डिपीआर पूरा गरेका छौँ ।
त्यसलाई पूर्णता दिन, धनगढी, गोदावरी औद्योगिक क्षेत्र, डुडेझाडी औद्योगिक क्षेत्र लगायतका यातायात क्षेत्रमा जस्तो सेती लोकमार्ग, खुटिया दीपायल फास्ट ट्रयाक, उरै जाने नाका ताक्लाकोटसम्म पुगाउने, महाकाली करिडोरजस्ता योजनाहरू दीर्घकालीन महत्त्वका छन् । यस्ता योजनाहरूले यो क्षेत्रको व्यापार, पर्यटन रोजगारीको क्षेत्रमा ठूलो योगदान दिन्छन्। त्यसका लागि पनि मेरो उम्मेदवारी दोहरिएको हो ।
सत्ता सत्तारुढ गठबन्धनमा पाँच दल एकातर्फ र एमाले एक्लै चुनावमा होमिएको छ । कस्तो परिणामको अपेक्षा गर्नुभएको छ ?
मैले अहिले एमालेबाट चुनाव लडिरहेको छु तर विकासका लागि पार्टी विशेष मात्रै नभएर सम्पूर्ण जनता मसँग छन् । म सबैको साझा उम्मेदवार हुँ भन्ने लाग्छ । त्यो भएर यो क्षेत्रका जनताले पार्टीभन्दा पनि मेरो समर्पण र यो क्षेत्रप्रतिको योगदानलाई हेर्नेछन् । हिजो पनि साथ सहयोग पाएको थिएँ । जनयुद्ध लड्दा पनि जनताबाट सहयोग, समर्थन र साथ पाएको थिएँ। त्यसपछि शान्ति प्रक्रियामा आएपछि पनि मैले सहयोग र समर्थन पाएको थिएँ ।
फेरि पनि यो निर्वाचनमा त्यही जनताको साथको विश्वास लिएर चुनावी मैदानमा आएको छु । साथ सहयोग पाउने दृढ विश्वास छ ।
पार्टी छोडेर एमालेतिर लाग्नुभएको छ । कतिले अवसर र स्वार्थका लागि एमालेमा गएको पनि भनेका छन् । यस बारेमा के भन्नुहुन्छ ?
पहिलो कुरा त के हो भने नेपाली कम्युनिष्ट आन्दोलन टुटफुटबाट २०७५ जेठ ३ गते फेरि एउटा ठूलो एकतामा परिणत भएको थियो । प्रचण्डलगायत कम्युनिष्ट नेताहरू हामीले विश्व कम्युनिष्ट आन्दोलनमा एउटा गौरवशाली अध्याय शुरु भएको भन्यौँ तर नेतृत्वका स्वार्थले पार्टीलाई पुनः विभाजनतिर लगे । हामी, मलगायत थुप्रै नेतृत्व तथा नेता कार्यकर्ताहरूले नेकपाको निरन्तरता चाह्यौँ ।
यो एकताको नयाँ एमाले हो । म कतै गएको होइन, म त यहाँ कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा उभिएको छु । अब स्वार्थको कुरो गर्नुपर्दा म मन्त्री र सांसद पद गुमाएर यसमा लागेको हुँ । स्वार्थ भएको भए त यस्तो हुन्थेन ।
त्यही भएर स्वार्थ होइन, अहिलेको आवश्यकता, कम्युनिष्ट आन्दोलनको मूल प्रवाह र मुख्य शक्तिलाई बलियो बनाएर हाम्रो संविधानको समाजवाद उन्मुख कार्यान्वयनका लागि एमाले नै उत्तम पार्टी हो भन्ने विश्वाससहित म यहाँ आएको हो। मेरो व्यक्तिगत स्वार्थ केही छैन ।
एमालेको केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज पनि हुनुहुन्छ । संसदीय चुनावमा समग्रमा प्रदेशको नतिजा कस्तो आउला ?
हामी जनतामा आएका छौँ । नयाँ जनादेश लिने कुरा छ । जनताप्रति हाम्रो समर्पण छ । देश र मुलुकप्रति प्रतिबद्ध छौं । ‘समृद्ध नेपाल सुखी नेपाली’को अपेक्षा र हाम्रो नारा छ । त्यसलाई कार्यान्वयनमा लैजान यहाँ सकारात्मक नतिजा आउँछ । हिजो एमालेको सरकारले गरेका काम लगेर हामी जनतामा आएका छौँ ।
अहिलेको गठबन्धन सरकारका कारण भए गरेका काम कुरा जनताले बुझेका छन् । अर्थतन्त्र डामाडोल छ, महँगी बढेको छ । यी सबै कुराले यतिखेर नेपाली जनता एमालेप्रति निकै विश्वस्त छन् ।
सुदूरपश्चिमका विभिन्न क्षेत्रमा टिकट वितरण लयागतका विषयमा एमालेभित्र तीव्र असन्तुष्टि छ । तपाईंकै क्षेत्रमा पनि त्यस्तो अवस्था देखिन्छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
तपाईं निर्वाचन लड्न लागेको क्षेत्रमै सुदूरपश्चिमको स्थायी राजधानी तोकिएको अवस्था छ । राजधानीको सवालमा तपाईंको के भूमिका हुन्छ ?
पहिलो कुरो त यो राजधानी यहाँ हुन्छ । तत्कालीन समयमा पहाडबाट मुख्यमन्त्री बनाउने र राजधानी यहाँ बनाउने निर्णय दृढतापूर्वक गरियो । त्यो सही थियो । प्रदेश सरकारले राजधानीलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने थियो तर त्यो गर्न सकेन । त्यो जनतासामु छँदै छ ।
अहिले प्रधानमन्त्री लगायत उहाँको पार्टी (नेपाली काँग्रेस)का नेताहरूले यसलाई पहाड लानुपर्छ भन्नु सुदूरपश्चिमका जनताको अपमान हो । हिजो दुई तिहाईको मतले यहाँ राजधानी गोदावरीमा भनेर निर्णय गरेको छ ।
संसद्बाट पारित निर्णयको पनि अपमान हुन्छ र दोस्रो कुरो अहिले भूमिको समस्या र अव्यवस्थित बसोवासका कारण राजधानी निर्माणमा सकस भएको हो । अब हाम्रोसरकार आयो भने जनतालाई भूमिको मालिक बनाएर राजधानी निर्माण गर्ने कुरामा मेरो महत्वपूर्ण भूमिका रहन्छ । राजधानी यहाँ भइसकेपछि पहाडका जनतालाई पनि कसरी सुविधा दिने भन्ने कुरामा हामी लाग्छौं ।
वलायर
डोटीमै उम्मेदवार बन्ने चर्चा लामो रह्यो एक्कासी कैलाली झरेर उम्मेदवारी दिने अवस्था कसरी उत्पन्न भयो ?
मैले यहाँ उम्मेदवारी मागेको होइन तर पार्टीले निर्णय गरिसकेपछि मैले पार्टीको निर्णय अवज्ञा गर्न मिल्दैन । त्यसलै मेरो उम्मेदवारी यहाँ भएको हो। साथै यो मेरो राजनीतिक जीवनको प्रारम्भिक चरण बिताएको ठाउँ पनि हो र मेरो घरपरिवार सबै यहाँ भएको ठाउँ भएकाले पार्टीले यस्तो निर्णय गरेको हुनसक्छ ।
मलाई नौलोपन छैन । यद्यपि मलाई गठबन्धनका कारण डोटीबाट यहाँ आउनुको पीडा पनि छ । यो मेरो कारणले मात्रै भएको होइन। म पार्टीको इमान्दार र बफादार कार्यकर्ता र सिपाही भएकाले पार्टीको निर्णयलाई मैले आत्मसात गरेको हुँ ।
कैलाली क्षेत्र नम्बर ४ बाट संसदीय चुनावमा होमिनुभएको छ । यहाँका मतदाता, नागरिक कस्तो सन्देश पाउनु भएको छ ?
विगतमा यहाँबाट निर्वाचित भएकाहरूसँग मतदाताको निकै बढी विकर्षण छ । अब छिटोभन्दा छिटो म एउटा राजनीतिकर्मी र समाजसेवी भएका कारण म यहाँका मतदाताको मनमा वासस्थान बनाउन सक्छु भन्ने विश्वास छ ।
तपाईंलाई मत किन दिने ? यसका आधार के छन् ?
यसका त धेरै कारण र आधार छन । ती कारणले हो भने त सबैले मलाई मत हाल्नुपर्छ । म निःस्वार्थ भावनाबाट राजनीतिमा लागेको हो । म एउटा गरिब पृष्ठभूमिबाट आएको, गरिबलाई चिनेको मान्छे हो । मैले मिहिनेत, रगत र पसिना बगाएर आएको, पसिना र रगतको मूल्य थाहा भएको, मसँग राजनीतिक ठूला महत्त्वाकांक्षा छैनन् । म कर्मशील मानिस, गरिबी न्यूनीकरण गर्नका लागि यहाँका युवाहरूको रोजगारीका लागि र यहाँको पूर्वाधारका लागि आएको मान्छे हो । विशेषगरी म पहाडी जिल्लाबाट यहाँ आउँदै छु र मैले पहाडी जिल्लाभन्दा यहाँको अवस्था एकदमै दयनीय देखेँ । म यहाँ उम्मेदवार हुँदै गर्दा बिजुलीका पोल छैनन् ।
यातायात सञ्जालमा अहिलेसम्म पनि नजोडिएको, अहिलेसम्मका नेताहरूले यहाँ राम्रोसँग आवागमनका लागि एउटा कल्भर्टसमेत राख्न नसकेको अवस्था देखिएको छ । त्यसैले मैले यहाँको जनताको जनजीवनलाई सरल र सहज बनाउनका लागि उम्मेदवारी दिएको छु । राजनीति भनेकै जनताको जनजीवनमा सहज र सरलता ल्याउनु र उसको आर्थिक उन्नति अभिवृद्धि गर्नु हो ।
यस अघिको इतिहास हेर्दा धेरैजसो नेताहरूले चुनाव जितेर एकपटक सांसद बनेपछि निर्वाचन क्षेत्र बदल्ने र छोड्ने पनि परिपाटी देखिएको छ । तपाईं के गर्नुहुन्छ ?
मेरो राजनीतिक जन्मथलो डोटी भए पनि म यहाँ आइसकेपछि त्यस्तो हुन्न । यहाँका मानिस, यहाँको पार्टीले मलाई स्वीकार गरिसकेपछि म यहीँ रहन्छु । म स्वार्थका लागि आएको होइन, मलाई पार्टीले ताप्लेजुङ चुनाव लड्न पठाएको भए पनि जान्थेँ । हिजो हामीले संघर्ष गरिरहेका वेला चाहे दार्चुलाको काँग्रेस होस्, चाहे ताप्लेजुङको काँग्रेस होस् । जहाँको काँग्रेस भए पनि काँग्रेस भए पनि हामी सबै खुसी भयौं । पीडामा पनि त्यस्तै हो । मभित्र स्वार्थ छैन । म कैलालीभित्रै आफ्नो स्पेस खोज्छु ।
प्रदेशका सबै ठाउँमा गठबन्धन गरेर चुनावी मैदानमा हुनुहुन्छ । यो निर्वाचनमा गठबन्धन कत्तिको सफल हुन्छ ?
यो गठबन्धन नभएको भए हाम्रो संविधान लिलाम भइसक्थ्यो । गठबन्धनले मुलुकलाई बचायो । अब गठबन्धनले मुलुकलाई १० वर्षको खाका बनाएर जानुपर्छ । गठबन्धन सफल बनाएर जानुपर्छ ।
प्रदेश राजधानीका विषयमा के भन्नुहुन्छ ?
कैलालीमा प्रदेश राजधानी तोकिएको छ । डोटीमा चुनाव लड्दै गर्दा मेरो स्वार्थ डोटीमा राजधानी होस् भन्ने थियो । मेरो ठाउँमा अरू जोसुकै भए पनि भन्थे । यसका लाज मान्नुपर्ने केही कुरा छैन ।
म मन्त्रिपरिषद्मा हुँदा पनि अस्थायी राजधानी तोकियो तर मैले केही गर्न सकेन । तैपनि पछि गएर मेरा साथीहरूले मेरो बाध्यतालाई बुझ्नुभएन ।
म त्यतिखेर निर्वाचन पराजित भएको अवस्था थियो । पराजित मानसिकता र तागतले के कति गर्नसक्छ ? भन्ने कुरा त्यहाँका मानिसहरूले बुझ्नुपर्ने हो। त्यो अब इतिहासले बताउला । यो त राजधानी बेचुवा हो भनेर मलाई आरोप लागेको थियो । त्यसपछि तत्कालीन सरकारले २०७५ सालमा गोदावरी (कैलाली क्षेत्र नम्बर ४) मा स्थायी राजधानी तोक्यो तर अहिलेसम्म राजधानीका नाममा पूर्वाधार नै निर्माण नहुनु दुःखद कुरा हो । प्रदेश र केन्द्र सरकारले तालमेल गरेर राजधानी बनाउनुपर्ने हो ।
अब गठबन्धन सरकार बनेपछि गोदावरीमै राजधानी निर्माणको काम अगाडि बढ्छ ।