भूकम्पले बझाङमा ६ घर भत्किए

बझाङ : खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण बझाङका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ घरमा क्षति पुगेको छ । ३८ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

थलारा गाउँपालिका ९ सिरेटामा महोनराज जोशी, जौकला सिंह, हंसा चदारा, अपु नेपाली, वीरबहादुर नेपाली र छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ व्यासीका डबल कामीको घरमा पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए।

त्यस्तै थलारा गाउँपालिकाको सिरेटामै २५, केदारस्युँ गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ९ वटा घरमा आंशिक क्षति पुगेको अवस्थीले बताए। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर बिहान २ बजेर १२ मिनेटमा ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै जिल्ला कारागार बझाङको भवनमा आंशिक क्षति पुगेको छ।थलारा गाउँपालिका वडानम्बर ९ सिरेटाका स्थानीय महोनराज जोशीले भूकम्पको त्रासले रातभर गाउँभरिका मानिस आगो बालेर खुला चौरमा बसेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.