बैतडीमा घाँटी रेटेर हत्या गरिएकी युवती म्यादी प्रहरी थिइन्, सशस्त्रका जवान शंकाको घेरामा

धनगढी : घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार म्यादी प्रहरी भएको खुलेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएकी लुहार सेवा अवधि सकिएपछि घर फर्किएकी थिइन् ।

उनी मंगलबार भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै लुगा सिलाउन पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएकी थिइन् । उनको गाउँबाट डेढ घण्टाको पैदल यात्रापछि पुगिने कुलाउबाट दुवै जना मंगलबार घर फर्किएनन् । घर नफर्किएपछि परिवारले साँझदेखि सोधिखोजी थालेको थियो । उनीहरुको कुनै मेसो नपाएपछि प्रहरीलाई बुधबार बिहान प्रहरीलाई खबर गरे । स्थानीयको सहयोगमा प्रहरीले बुधबार बिहानैदेखि उनीहरुको खोजी थालेको थियो । शिवनाथ गाउँपालिका–६ को सिमानास्थित बालाडाँगा नेहा घाइते अवस्थामा भेटेपछि मायाको हत्या भएको रहस्य खुल्यो ।

नेहाले नै मायाको घाँटी रेटेर हत्या गरिएको बताएपछि मायाको शव भेटिएको थियो । उनको पनि घाँटी रेटिएको छ । नेहालाई उपचारका लागि डडेल्धुरा पठाइएको छ भने माया मृत भेटिएको स्थान सिल गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । स्थानीय जवलपुर माध्यमिक विद्यालय सैलोडामा १२ कक्षामा अध्ययनरत मायाको हत्याको घेरामा सशस्त्र प्रहरीका एक जना जवान परेका छन् । शिवनाथ गाउँपालिका–६ सोलपालाका स्थानीय समेत रहेका ती शसस्त्र प्रहरी जवान विदामा घर आएका थिए ।

केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका कुरा बाहिरिएको छ । घटनापछि ती शसस्त्र प्रहरीका जवान फरार भएकाले उनी नै हत्यामा संलग्न भएको आशंका बढेको छ । प्रहरीले भने घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.