निर्वाचित जनप्रतिनिधीद्वारा प्रमाणपत्र ग्रहण

बाजुरा : बाजुराबाट निर्वाचित तीनै जना सांसदले प्रमाण पत्र ग्रहण गरेका छन् । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा विजयी तीनै जनाले जितको प्रमाण पत्र ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले नवनिर्वाचित सांसदहरुलाई आधिकारीक निर्वाचित प्रमाण पत्र हस्तान्त्रण गरेका हुन् ।
प्रतिनिधी सभामा विजयी बद्री पाण्डे, प्रदेश निर्वाचन क्षेत्र (क) मा निर्वाचित नरेश कुमार शाही र (ख) मा निर्वाचित पदम बहादुर शाहीलाई विजयी प्रमाण पत्र हस्तान्त्रण गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित बधाई तथा प्रमाण पत्र वितरण कार्यक्रम मार्फत हस्तान्त्रण गरिएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् ।
बाजुरामा प्रतिनिधी सभा र प्रदेश सभा दुबैमा गठबन्धनका उम्मेदवारले जितेका छन् । प्रतिनिधी सभामा नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई पराजित गर्दै जित हात पारेका छन् ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीले नेकपा एमालेका बल्देव रेग्मीलाई पराजित गर्दै जित हात पारेका छन् । भने प्रदेश (ख) मा नेपाली काँग्रेसका पदम बहादुर शाहीले नेकपा एमालेका लालबहादुर थापालाई पराजित गर्दै जित हात पारेका हुन् ।
नवनिर्वाचित तीनै जना जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट बधाई ज्ञापन समेत गरिएको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीस ढाकाराम पौडेलले जनताको अपेक्षा पुरा गर्ने काममा इमान्दारी पूर्वक जिम्मेवारी निर्वाह गर्न सुझाव सहीत बधाई दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.