बलात्कार आरोपी अनाथालय प्रमुखलाई कारवाहीको माग

कञ्चनपुर, २३ माघ : कञ्चनपुरको महेन्द्रनगरस्थित अनाथालयमा भएको बलात्कार घटनाको सर्वत्र विरोध भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा नाबालिकमाथि बलात्कारको आरोपमा अनाथालयका कार्यालय प्रमुखलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयको मुलगेटमा धर्ना दिँदै विद्याथीहरुले पक्राउ परेको अनाथालयका कार्यालय प्रमुख शंकरबहादुर चन्दलाई कडा कारबाहीको माग गरेका छन् । बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन् । मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय चन्द माथि लागेको छ । दुईवर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन ।
यहाँ दुई नाबालिकाले आफूहरुमाथि बलात्कार गरेको प्रहरी समक्ष बयानसमेत दिएका प्रहरी स्रोतको भनाइ छ । एक साताअघि यहाँस्थित समाज कल्याण बाल अनाथालयका एक नाबालिकामाथि पनि अनाथालयमै जबरर्जस्ती करणी गरेको आरोप लागेका कार्यालय प्रमुख चन्द यतिबेला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनले बालिकालाई टिभी हेराउने बाहनामा कार्यकक्षमै लगेर बलात्कार गर्ने गरेको अन्य बालिकाले देखेको कुरो पनि रहेको अनाथालयकै एक कर्मचारीले बताए । बालिका गर्भवती भएपछि चन्दले नै गर्भ तुहाउने औषधि सेवन गराएपछि अत्यधिक रक्तश्राप हुँदा घटना बाहिरिएको उनको भनाई छ ।
प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी निरीक्षक भरतराज गिरीले आरोपित चन्दलाई हिरासतमा राखी जबरजस्ती करणी मुद्दामा सात दिन म्याद थप गराएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । बालिकालाई शान्ति पुनःस्थापना गृहको संरक्षणमा राखिएको बताए । माघ १७ गते प्रहरीले बालिकामाथि बलात्कारको सूचना प्राप्त गर्नासाथ चन्दलाई नियन्त्रणमा लिएको थियो । महेन्द्रनगरमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरे । घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखी बालिकामाथि अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तिबाटै दुव्र्यबहार हुनु निकै असैह्य घटना रहेको नेपाल विद्यार्थी सङ्घकी नेतृ सञ्जु अधिकारीले बताईन् । विद्यार्थीले बालबालिकाको सुरक्षाको विषयमा सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड पनि दिए । बालिकाको अनाथालयमा रक्तश्राप नभएको भए घटना बाहिर नै नआउने कञ्च विद्या मन्दिरमा स्नातक तहमा अध्ययन प्रकृति भट्टले बताईन् । उनीहरुले महिला तथा बालबालिकाको सुरक्षा र बलात्कारजस्तो जघन्य अपराधमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही नगरेसम्म घटना बढ्दै जानेप्रति चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.