सुदूरपश्चिमको मुख्यमन्त्री पद कांग्रेसको पोल्टामा जाने संकेत, नाउपाका सांसद काठमाडौंमै

अत्तरिया :’ सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब काङ्ग्रेसको पोल्टामा जाने संकेत देखिएको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज पनि विश्वासको मत पाउन मुस्किल देखिएपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलका हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व पाउने देखिएको हो ।

विश्वासको मतको प्रयोजनका लागि आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का सांसद उपस्थित नभएपछि पुनः ४ बजेका सारिएको छ । नाउपाले विश्वासको मत नदिने निर्णय गरेको सांसद पनि काठमाडौंमै रहेकाले मुख्यमन्त्री रावलले अर्को बैठकबाट पनि विश्वासको मत नपाउने देखिएको छ ।

आफ्नो पार्टीका नेता रेशम चौधरीको रिहाइ सुनिश्चित नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमै विश्वासको मत दिन नसकिने बताएपछि रावल नेतृत्वको गठबन्धन सरकार धरापमा हो। मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम हो । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलको आज एक महिना हुँदैछ। सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

मुख्यमन्त्रीले विश्वासको मत नपाए ठूलो दलको हैसियले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। प्रदेश सभामा माओवादीका सभामुखबाहेक १०, एमालेका १०, नाउपाका ७ र राप्रपाका एक गरी सत्ता पक्षमा २९ सदस्य छन्। नाउपाले मत नदिने भएपछि अब सत्ता पक्षमा त्यो संख्या २१ मा झरेको छ । जसले गर्दा प्रदेश सरकार अल्पमतमा पर्दैछ।प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका ७ र १ जना स्वतन्त्र सांसद छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.