अत्तरिया, २८ माघ : गोदावरी नगरपालिका गेटामा रहेको मेडिकल कलेज सञ्चालनका लागि दवाव स्वरुप ज्ञापनपत्र बुझाईने भएको छ ।
गेटा मेडिकल विश्वविद्यालय अभियान अत्तरियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको हो । फागुन १ गते सुदूरपश्चिम आउन लागेका प्रधानमन्त्री प्रचण्डलाई गेटा मेडिकल विश्वविद्यालय अभियानले ज्ञापन पत्र बुझाउने जनाएको छ ।
गेटा मेडिकल विश्वविद्यालय अभियान अत्तरियाले लामो समय देखि गेटामा प्रस्तावित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै विभिन्न सघर्षका कार्यक्रम गर्दै आइरहेको छ । अभियानका सचिव धर्म सिंह कुँवरले प्रधानमन्त्री प्रचण्डलाई प्रतास्वित गेटा मेडिकल कलेजको स्थलगत अवलोकन गराउने कार्यक्रम रहेको बताए । महेन्द्रनगर स्थित खुुला मञ्चमा १४ औँ संस्करणको सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घटन गर्न सुदूरपश्चिम आउने क्रममा प्रधानन्त्री प्रचण्डलाई गेटा मेडिकल कलेजको अवलोकन गराइने उनले बताए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले दोधरा चादनी सुख्खा बन्दरगाह निमार्ण स्थल, मझगाउँ विमानस्थल र दैजीछेला औद्योगिक क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, सुदूरपश्चिमबाट संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद प्रस्तावित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने बताएका छन् । उनीहरुले मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन एकवद्ध भएर दबाब सृजना गर्ने बताएका छन् । संघीय राजधानी काठमाडौँमा भएको छलफलमा एकताबद्ध भएर गेटा मेडिकल कलेजलाई देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन दबाब सृजना गर्न सहमत भएको पूर्वसांसद डा. दीपक प्रकाश भट्टले बताए । काठमाडौँमा उपलब्ध रमेश लेखक, एनपी साउद, नारायण मिश्र, गंगाराम चौधरी लगायत सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने ७ दलकै सांसदहरुले छलफलमा गरेका थिए । भट्टकै पहलमा सांसदहरुसंग छलफल गरिएको हो । गेटामा संघर्ष समिति नै गठन गरेर चिकित्सा विश्वविद्यालय बनाउनु पर्ने भन्दै अभियान नै अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन १ गते सुदूरपश्चिम आउने कार्यक्रम रहेकोले सो क्रममा गेटा मेडिकल कलेजको निरीक्षण गराएर विश्वविद्यालय बनाउन ध्यानाकर्षण गराउने पूर्वसांसद भट्टले बताए । प्रधानमन्त्री कञ्चनपुर आउँदा गेटाको अवस्थाको अपडेट गराउने र विश्वविद्यालय स्थापनाको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउने बताए । त्यसअघि प्रधानमन्त्री दाहाललाई भेटेर यसबारेमा छलफल गर्ने समेत उनले बताएका छन् । प्रस्तावित गेटा मेडिकल कलेजका अधिकांस भौतिक संरचना निर्माण भइसकेका भएपनि अझै पनि कुन मोडालिटिमा संचालन गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।
सम्बन्धित पाेस्टहरु