अत्तरिया : सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बोल्न पाएनन्। अतिथिको निमन्त्रणमा महोत्सवको उद्घाटन सत्रमा सहभागी भएका वाणिज्यमन्त्री भण्डारीलाई बोल्न समय नदिइएको हो। वाणिज्य संघले आयोजना गरेको महोत्सवको कार्यक्रममा सोहीसँग सम्बन्धित मन्त्री भण्डारीलाई बोल्न समय नदिएपछि यसको अहिले आलोचना भइरहेको छ।
‘कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रम कुण्ठित मानसिकताबाट चलेको जस्तो अनुभुति भयो, कसैलाई अपमानित हुने तरिकाले कार्यक्रम सञ्चालन गर्नु उचित होइन,’ दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफू स्वतन्त्र भन्ने तर कुनै पार्टीका नेतालाई खुशी पार्न भक्ती गान गाउन ठिक होइन।’
आफ्नै क्षेत्रमा महोत्सवको उद्घाटन कार्यक्रममा बोल्न नपाएपछि वाणिज्यमन्त्री भण्डारी रुष्ट बनेका छन्। वाणिज्यमन्त्री भण्डारीको सचिवालयले यसप्रति आपत्ति जनाएको छ। ‘अतिथिका रुपमा बोलाएर अपमान गर्ने काम भयो, उद्घाटन समारोहमा सरोकारवाला मन्त्रालयको मन्त्रीलाई नै बोल्न नदिनु ठिक भएन,’ सचिवालयका एक सदस्यले भने, ‘यो राम्रो व्यवहार भएन।’
मन्त्री भण्डारी नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत हुन्। उनलाई बोल्न नदिएकोप्रति एमालेका नेता कार्यकर्ता र उद्योगी, व्यवसायीहरुले आलोचना गरेका छन्। बैतडीबाट निर्वाचित भण्डारी मन्त्री भएपछि यस क्षेत्रका विभिन्न ठूला तथा साना आयोजना निर्माण कार्यले तीव्रता लिने अपेक्षा गरेका छन्। सोमबार मेला उद्घाटन समारोहमा मन्त्री भण्डारीले यस विषयमा पनि आफ्नो धारण र प्रतिवद्धता राख्ने धेरैको अपेक्षा थियो।
प्रधानमन्त्री दाहाल बोल्नु अघि कांग्रेस नेता एवम् कञ्चनपुर–३ का सांसद रमेश लेखक र कञ्चनपुर–१ का सांसद तारालामा तामाङ बोलेका थिए। उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक पिताम्बर जोशीले मन्त्री भण्डारीलाई बोल्न समय व्यवस्थापन गर्न नसकेकोमा क्षमा मागेका छन्। ‘प्रधानमन्त्रीज्यूको मन्तव्य अघि उहाँ (मन्त्री भण्डारी) को बोल्ने कार्यक्रम तय थियो, तर प्रधानमन्त्रीका सुरक्षा अधिकारीले काठमाडौँ फर्किन ढिलो हुने भन्दै नाम काटे,’ उनले भने, ‘त्यसपछि सिधै प्रधानमन्त्री बोल्नु भएको हो, मन्त्रीज्यूलाई समय व्यवस्थापन गर्न नसकेकोमा हामी क्षमा माग्छौँ।’