अत्तरिया : सार्वजनिक बिदा विवादबीच सरकारले आगामी वर्ष थप दुई दिन बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको सार्वजनिक बिदा पुनरवलोकनसम्बन्धी प्रस्तावमा आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकले गत वर्षका सबै बिदा कायमै राखेर २ दिन बिदा थपेको छ। जसअनुसार नै आगामी वर्षको क्यालेन्डरमा राख्न अनुमति दिइएको प्रवक्ता रेखा शर्माले बताइन्। २०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरवलोकन नगरिएको उनले जानकारी दिइन्। उनका अनुसार आगामी वर्षबाट पुस २७ गतेको पृथ्वीजयन्ती र फागुन १ गते ‘जनयुद्ध दिवसुको बिदा थपिएको हो।
सरकारले यस वर्ष पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’ को बिदा दिएको थियो। यी दुबै बिदा विवादमा परेका थिए । केही दिन पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही बिदा कटौैती गर्नुपर्ने भन्दै सार्वजनिक रुपमा बोलेका थिए । यद्यपि त्यसको केही दिनपछि सरकारले नै ‘जनयुद्ध दिवस’ भन्दै फागुन १ गते सार्वजनिक बिदा दिएको थियो ।