अत्तरिया : कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले सजाय माफी पाएका छन्।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा मिति फागुन ७ गतेदेखि लागू हुने गरी चौधरी सहित ३९५ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी हुन् । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।
उक्त मुद्दामा २०७० बैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो। फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए। बाँकेबाट उनलाई काठमाडौं हुँदै धनगढी लगिएको थियो।