कैलाली कारागारबाट अरुण चौधरी लगायत चार जना आज रिहा हुँदै

अत्तरिया : कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी लगायत चार जना आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचिमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको कारागारले जानकारी दिएको छ । १० बजे पछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ । जिल्ला कारागारमा रहेका सात जनालाई सजाय माफीका लागि आग्रह गरिएको भएपनि चार जनाको मात्रै सजाय माफी भएको छ ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

चौधरीले सुनुवाइको मौका समेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुबै रिटमा अन्तरिम आदेश भएन ।अन्ततः उनी आज राष्ट्रपतिले गरेको सजाय माफीबाट रिहा हुँदै छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.