प्रदेश समृद्धिकालागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री शाह

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्। आइतबार धनगढीमा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शाहले यस्तो बताएका हुन् । राजनीतिक स्थिरतालेमात्र प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको मुख्यमन्त्री शाहले बताए। सरकार परिवर्तनले प्रदेश तथा देशमा सामाजिक न्याय, समानता, सामाजिक सद्भाव, आर्थिक समृद्धिलगायत सुशासन नहुने भएकाले राजनीतिक स्थिरता आवश्यक रहेको उनले बताए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित विशेष समारोहलाई मुख्यमन्त्री शाहले सम्बोधन गरेका थिए। दिवसको अवसरमा धनगढी ट्राफिक चौकदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभात फेरी गरिएको थियो। प्रभात फेरीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही, सभामुख भीम बहादुर भण्डारी,निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश सभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव,निजामती कर्मचारी, सुरक्षा निकाय प्रमुख,संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। सुदूरपश्चिम प्रदेश मूल समारोह समितिको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.